मर्ने
हजारौं बाटाहरूलाई उछिन्दै
सिङ्गो बाटोभरी जन्म उभिन्छ।
त्यो जन्मलाई उभ्याउने तिमी हुन्छौ।
सत्य जन्म हो।
सत्य मृत्यु हो।
अझै धेरै सत्य तिमी हौ।
खै, कसरी पो भन्न सक्छु-
जीवन मिथ्या हो।
अझै,
तिमीले दिएको जीवन
कसरी भ्रम हुन्छ र आमा!
भैंसीलाई
कुँडो तताउने निहुँमा
ठूलो मुढो अगेनालाई निलाएर,
त्यो पुषको तुसारो
एक भित्ताको अनुहार
एक आम्खोरा पानी
त्यही अगेनाबाट सारेर दिँदा
कति जोर आँखा छल्नुपर्थ्यो होला।