नमन!!

लेख 
नमन!! 
(गुरूपूर्णिमा विशेष)

गुँडजस्तै गर्भमा ओथारो बस्नै नपाई गोठमा बाँधिएका गाई अनि गरामा गाडिएका बोटबिरुवा स्याहार्दै गाह्रा ती नौ महिना कटाउँदा गहभरिका आँशु नछचल्काइकन मनभरिका खुशीसँग साटेर गोलाकार पृथ्वीमा यो तेरो गोरेटो भन्दै गुड्काइदिएकी मेरी आमा। नमन। 

गोलो टाउकोबाट गालासम्मै पसिना गुडाएर मेरा गिजामाथि गमक्क परेका दाँत हँसाउन गन्जागोल गोरेटोमा इलमको गाडा धकेलेर गोजीमा भरेका गेडीले गाग्रीभरिका आवश्यकता अनि गगनचुम्बी रहरहरू गुन्द्रीमा टुसुक्क बसेर गज्जबैले पूरा गरिदिने मेरा बाबा। नमन। 

मेरा बाबा


लेख
मेरा बाबा

कहिलेकाहीं त म आफ्नै औंला हेर्छु, कति ठूला भैसकेछन्। बाबाका ठूला औंला समातेर साना गोडाहरू ठूली पृथ्वीमाथि ठम्म उभिएको सम्झन्छु। अनि बिस्तारै ठूला बाटाहरूमा उही साना गोडाहरूले चालेका साना चालहरू देखेर मेरा बाबा दङ्गिदै आमालाई दङ्गाएको सम्झन्छु। मेरी आमा पनि त कम थिइनन्। बिहान-बेलुका भित्र बाहिर गर्दा चिरिएका हत्केलाभित्र मेरो सानो मुठी अटाएर मजत्रै सिसाकलमले गोलो अन्डा र पुलिसको डन्डा भन्दै अक्षर चिनाउँथिन्। म चिनेझैं गरिदिन्थें। आमा पनि दङ्ग पर्दै मेरा बाबालाई दङ्गाउँथिन्। दङ्गिएका मेरा बाबाले मलाई जुरुक्कै उचाल्नुहुन्थ्यो। ल आइजा बुई भन्दै डुलाउन लग्नुहुन्थ्यो। म बुईबाट काँधमा सर्थें। बाबाको काँधमाथि आफ्नो पिठ्युँ राखेर बाबाको कान बटार्दै 'भ्रुम भ्रुम' भन्दा संसार जितेझैं लाग्थ्यो।

खाना खाने बेला बाबासँग ताराबाजी खेल्नुपर्थ्यो मलाई। 'मामा आए घोडा' सुन्ने बित्तिकै बाबालाई घोडा बनाउँथे। आफू राजाजस्तै बाबाको घोडामाथि चढेर आमा छेउ पुर्‍याउँथे। आमाले एक गास मुखमा हाल्दिनुहुन्थ्यो। बाबाले सानो स्वरमा आमाको हात नखा है भन्नुहुन्थ्यो। मैले 'खा है' सुन्थें। टोक्दिहाल्थें। आमाले बाबालाई कराउनुहुन्थ्यो। सुत्ने बेला बाबाको गोडामाथि गएर बस्थें। दुवै हात बाबालाई समाउन लगाउँथे। बाबाले 'ढ्याकुस-कुस' भन्दै मसँगै गोडा उचाल्नुहुन्थ्यो। फेरि 'कुलेबारी' भन्दै झनै माथि पुर्‍याउनुहुन्थ्यो। अब लड्ने पालो। 'ढर्ल्या...ङ्ग' भन्नुहुन्थ्यो। म बेस्सरी समाउँथे। छेउतिर लडाइदिनुहुन्थ्यो, गर्ल्याम्म।