कथा
(पात्र अनि कथाका अंश काल्पनिक हुन्। कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।)
मैले
आमालाई भनें। आमाले मामालाई भन्नुभएछ। मामाले बा'लाई लिएर केटीको घर पुग्नुभएछ।
पूर्व
फर्किएको एक तले घर, कम्पाउण्ड गरिएको, गेट भने थिएन (मैले सानीलाई सोधेको थिएँ एकपटक, गेट किन नराखेको भनेर। उसले भनेकी थिई - "पछि तिमीसँग भाग्नुपर्छ। राती गेट खोल्दा
घरका ब्युँझिहाल्छन् नि।" लगत्तै भनेकी थिई - "गेट राख्यो भने काम नपरी कोही
छिर्दैनन्। जेलमा बसेजस्तै हुन्छ रे बा'लाई।" आफ्नो घर अगाडिको त्यो गेट सम्झें।
चौबिसै घण्टा मेरै कोठामा हुने सन्ते अचेल हप्तादिनमा एक पटक देखापर्छ। त्यै पनि कुनै
काम विशेषले। साँच्चै, गेटले त प्रवेश निषेध नै भन्दो रैछ क्यारे।), अगाडि सानै भएपनि
बगैंचा, उत्तरी भेगमा तुलसीको मोठ, दक्षिणतर्फ बल्लतल्ल हुर्केको नीमको रुख। "हैन
तिमीहरू घर हेर्न गएका कि केटी?" आमाले बीचैमा रोक्नुभयो।