मंसिर
कथा
(पात्र अनि कथाका अंश काल्पनिक हुन्। कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।)
मैले
आमालाई भनें। आमाले मामालाई भन्नुभएछ। मामाले बा'लाई लिएर केटीको घर पुग्नुभएछ।
पूर्व
फर्किएको एक तले घर, कम्पाउण्ड गरिएको, गेट भने थिएन (मैले सानीलाई सोधेको थिएँ एकपटक, गेट किन नराखेको भनेर। उसले भनेकी थिई - "पछि तिमीसँग भाग्नुपर्छ। राती गेट खोल्दा
घरका ब्युँझिहाल्छन् नि।" लगत्तै भनेकी थिई - "गेट राख्यो भने काम नपरी कोही
छिर्दैनन्। जेलमा बसेजस्तै हुन्छ रे बा'लाई।" आफ्नो घर अगाडिको त्यो गेट सम्झें।
चौबिसै घण्टा मेरै कोठामा हुने सन्ते अचेल हप्तादिनमा एक पटक देखापर्छ। त्यै पनि कुनै
काम विशेषले। साँच्चै, गेटले त प्रवेश निषेध नै भन्दो रैछ क्यारे।), अगाडि सानै भएपनि
बगैंचा, उत्तरी भेगमा तुलसीको मोठ, दक्षिणतर्फ बल्लतल्ल हुर्केको नीमको रुख। "हैन
तिमीहरू घर हेर्न गएका कि केटी?" आमाले बीचैमा रोक्नुभयो।
पर्खनुहोस्
न दिदी, भन्दै त छु। फेरि मामाकै बोल्ने पालो - भान्जी कौसीमा लुगा सुकाउँदै थिइन्।
भिनाजुलाई चिनिहालिन्। भान्जाले फोटो देखाएका होलान् नि। नमस्ते गरेर भित्र लगिन्।
आमाबाबा बजार निस्किनु भा'रैछ। दाई स्कुलमा वार्षिकोत्सव भनेर बिहानै एक गास टिपेर
निस्किहाल्नु भा'रे। भान्जीको हातको मीठो चिया खाँदाखाँदै बाबाआमा आईपुग्नुभयो। कुराकानी
गरियो। ज्यादै मिलनसार हुनुहुँदो रैछ। भान्जी त नाम जस्तै, सुशीला। भान्जाले सुख पाउने
भए दिदी। मामा दङ्ग हुनुहुन्थ्यो। कुरो पक्कापक्की जस्तै भयो। एकपल्ट दाइसँग सल्लाह
गरेर जानकारी दिउँला भनेका छन्। यै मंसिरमा आँट्ने त होला नि..!!
पल्लो
कोठाबाट गफ सुनिरा'को म पल्लो कोठामै नाँचे। सुशीलासँग मागेर बिहे होला कहिल्यै सोचेको
पनि थिइनँ। सोच्न सक्ने स्थिति समाजले कहाँँ दिएको थियो र। अघिल्लो वर्ष मात्रै जैशी
र उपाध्यायमा कुरो नमिल्दा ठुल्बाले आफ्नी छोरी दिंदै दिएनन्। झनै सुशीला परी नेवार्नी।
"आखिरमा
लगी छाड्यौ है। तिम्रो बाबा र मामा आउनुभएको थियो। बधाई छ तिमीलाई.. हैन हैन.. बधाई
छ हामीलाई। दाइले नि मान्नुभयो।" सानीको म्यासेज।
भुँइमा
खुट्टो थिएन। सारा विश्वब्रह्माण्डमा भएको सबै खुशी मैतिर मात्रै पठाएछन् क्यारे भगवानले।
सानीलाई फोन गरें। 'हेलो' बाहेक अरु केही बोल्नै सकिनँ। उसले त त्यही हेलो पनि भन्न
सकिने। करिब एक मिनेटको मौनतापछि - "मलाई पाल्न सक्नुहुन्छ त" उसले प्रश्न
तेर्साई।
"तिमी
जागिरे मैले कहाँबाट पाल्नु नि। बरु मलाई चैं तिमीले पाल्ने हो।" मेरो उत्तर।
"घरज्वाईं
बस्नुहुन्छ भने पालम्ला" जिस्काई।
"किन
तपाईं-तपाईं गरिरा' हँ?"
"बानी
पार्नु परेन।" खिस्स हाँसी। "छिट्टै दिनको टुङ्गो लगाएर आउनुहोस् है।"
"मंसिरको
पहिलो लगन नै छोपम्ला नि।" मुस्कुराउँदै भनें।
"ल
ज्वाँईंसाप, छोरीलाई सासुमाले बोलाउनुभयो। छोरी गई है त।"
"बधाई"
भन्दै फोन राखी।
उसको
घरबाट आधिकारिक जानकारी मामालाई दिइएछ। मामाले आमालाई सुनाउनुभयो। आमाले मलाई। म विश्वस्त
नै थिइनँ, बा'ले कसरी मान्नुभयो भनेर। आमालाई सुनाउँदा बा'ले माने हुन्छ नत्र जिद्दी
गरेर चित्त दुखाउने काम नगरेस् भन्नुभएको थियो। मामाले सम्झाउनुभएको रे बा'लाई। तैपनि
अलिअलि असन्तुष्टिका धर्का भने देखिन्थे बा'का निधारमा। मनमनै मामाप्रति धन्य भएँ।
बिहेको
मिति तय भयो। मंसिर १३। भित्तेपात्रोको मुहार फेरियो। उल्टो दिनगन्ती सुरु भयो। एउटै
छापाखानाबाट दुई थरिका कार्ड निस्किए। एउटामा मेरो नाम पहिला। अर्कोमा सुशीलाको। अनुप
आचार्य अनि सुशीला शाक्यको चर्चा गाउँभरि भयो। ठुल्बाका परिवार बोल्नै छाडे। ठुल्बाकी
ठुली छोरीले भने बाहिर-बाहिरबाटै किनमेलमा सघाउँथिन्। बिहेको दिन नजिकिंदै थियो। मर्दापर्दा
चाहिने आफन्त र छर-छिमेकी त हुन् भनेझैं बिस्तारै सबै ठीक हुँदै गयो। गाउँले परिवर्तनकारी
फड्को मार्दै थियो। ठुल्बाका परिवार पनि सहयोगमा जुट्न थालेका थिए। गोबरले आँगन लितपोत
भयो। रमेश काकाकोबाट दुईटा पसाएको केरा ल्याएर गेट बनाइयो। टेन्टवालाले टेन्ट टाँग्दै
थिए। जग्गे बनाइयो। ठुलो अक्षरमा 'शुभ-विवाह', एउटा कुनामा अनुप, बीचमा बडेमानको पानको
पात, अनि अर्को कुनामा सुशीला लेखेको ब्यानर टाँगियो। ध्वजा, पतका, रङ्गीचङ्गी, घरमा
कुनै मेला लागेको जस्तै भयो।
तँलाई
खुवाउने यो अन्तिम पटक हो। अबभने तैंले आमालाई खुवाउने दिन आयो भन्दै आमाले आफ्नै हातले
दही खुवाउनुभयो। गहभरी आँसु भए। आमालाई बेस्सरी अँगालो हालें। मनमनै कृतज्ञ भएँ। आमाले
पहिले बा'लाई भन्नुभएको भए बा मान्दै मान्नुहुन्नथ्यो। यो सबै आमाकै देन हो। पुन: अँगाले।
कानमै गएर भनें - आमाको अगाडि छोराछोरी जहिले सानै हुन्छन्। तपाईंंको हातको सधैंं खाइरहन
पाइयोस्। "अँ, खुबै बुढीलाई दु:ख हुन्छ सोचेर आमाकै हातको खाइरहन पाइयोस् भनेर
कहाँँ हुन्छ। बुहारी आएपछि त मरे नि पकाउँदिन।" सबैले सुन्ने गरेर जिस्काउनुभयो।
सबै गल्ल हाँसे।कलश
बोकेकी बहिनी अघि लागिन्। पछि पछि म। सिँगारिएको कारभित्र छिर्न आदेश दिइयो। म भित्र
छिरें। चोकमा पटका पड्के, आतिशबाजी भए। सिँगारिएको कार गुड्न थाल्यो, सानीको घरतिर।
म त कारभित्र पस्दानपस्दै पुगिसकेको थिएँ। सानीको घर। सजिसजावट त्यो घर सम्झनामा आइपुगेको
थियो। बिस्तारै सानीको घर डुल्न थालें। मनैमन। सानीका बा'ले कपाल फाल्नु भएको रहेछ।
रातो फेता बाँध्नु भएको थियो टाउकोमा। पण्डित बा'ले मन्त्र फलाँकीरहेका थिए। सानीकी
आमा यताउता गर्दै हुनुहुन्थ्यो। लस्करै कुर्सी राखिएका थिए। मानिसहरूको आवतजावत बाक्लै
थियो। सदिच्छाका गुच्छासहितको उपस्थिति थियो आफन्तजनको। दाइलाई अल्लि परको टेन्टमा
भेट्टाएँ। भोजभतेरको तयारीमा हुनुहुन्थ्यो सायद। धन्न रक्सी भने कतै देखिएन, सम्झौता
जो भएको थियो। खोइ त सुशीला, मेरी सानी? रातो सारीमा सिँगारिएकी देखिनुपर्ने। अहँ कतै
देखा परिने। गल्लीबाट भित्र छिरें। एउटा कोठा भित्रबाट बन्द थियो। पक्कै यही कोठामा
हुनुपर्छ। ढोका ढकढकाएँ। ढोका खुल्न नपाउँदै म त भित्रै छिरिसकेछु। भेट्टाएँ बल्ल।
धन्न.. धन्न.. सारी लगाइसकेकी रैछे। दुवै हातको माथिसम्मै मेहेन्दी लगाएकी थिई। मानौं
उसको त्यो हात होइन, कुनै क्यानभास हो। अनि चित्रकारले बडो दत्तचित्तका साथ चित्र कोरेका
हुन्। एउटा हातमा शिव भगवानको आकृति झल्किने चित्र थियो, मेहेन्दीकै; अर्कोमा पार्वतीको।
दुइटीले कपालभित्र सुइरो राख्दै मिलाउँदै थिए। छोड्दा असाध्यै राम्रो देखिने त्यो कपाल
आज बाटेर एकै ठाउँमा राख्दा झनै अजिबको, राम्रो देखिरहेको थियो। "हैन, यति गोरीलाई
पाउडर किन लगाइदिनुपर्यो र..?" भन्दाभन्दै एउटीले पाउडर दल्दिहाली। अर्कीले आँखीभौं
सिँगारी। अर्कीले परेली। अर्कीले ओठ सिँगार्दै थिई। लाज लाग्यो। आँखा छोपें। मनमनै
भनें - "बेहुली न हो आजकी।"
कसैले
छेउबाट कोट्याइरहेको थियो। ए, मामा पो..! कोठाबाट कारमा आइपुगें, एक निमेषमै। कार त
सुशीलाको घर अगाडि आइसकेछ। आहा! कती रङ्गीचङ्गी बनाएछन् त, आँखै हेर्न गाह्रो। किरमिर-किरमिर
द्रिश्य बिस्तारै प्रष्ट-स्पष्ट हुँदै थियो। आँखा अगाडि मामा होइन आमा हुनुहुन्थ्यो।
"अघि खुवाउनुभएको दहीको गिलास अझै राख्नुभा'रैन्छ" सोच्दै थिएँ।
"टेबलमा
राख्देको छ है चिया।" पर्दा उघारेर निस्किन लाग्नुभयो।
"अहिले
तताएर खाम्ला नि।" सिरक तानेर मुखसम्मै छोपें।
"सेलाएर
तताको चियामा केही रस हुँदैन।" हराउँदै गएको आवाजसँगै आमा पनि हराउनुभयो।
"त्यस्तै
हो सम्बन्ध पनि" मनले सुस्केरा हाल्दै थियो।
मनको
जिब्रो थुतिदिऊँझैं भयो। मगजले एउटा खबर पठायो - "मनको जिब्रो नै हुँदैन।"
म
खिस्स हाँसे। चिया गिलास समाएँ... धन्न सेलाइसकेको रहेनछ।
Comments
Post a Comment