तछाडमछाड..!!

कविता 
तछाडमछाड..!!

Image source: Google, PixelSquid
यहाँ तछाडमछाड छ,
राम्रो देखिने होडबाजीमा 
राम्रो बन्न होइन। 
असल देखिने होडबाजीमा 
असल बन्न होइन। 

धनीलाई कसरी धनी देखिनु भन्ने छैन। 
हात मुख जोर्न धौ धौ हुनेलाई भने 
तछाडमछाड छ, 
धनी देखिने होडबाजीमा 
धनी बन्न होइन। 
मनको दरिद्री जाे छन्, 
हो उनैलाई तछाडमछाड छ, 
मनकारी देखिने होडबाजीमा 
मनकारी बन्न होइन।

बगलीमा छुरा लुकाएर 
मन्दिरको घण्ट जो बजाउँछ, 
तछाडमछाड त्यहीँ छ, 
धर्मात्मी देखिने होडबाजीमा 
धर्मात्मी बन्न होइन। 

देखिनु र बन्नुमा 
त्यति फरक भेउ नपाउने 
एउटा मुन्छे 
आफ्नो घरको भित्ता रङ्गाएर 
म रङ्गीन छु भन्दछ। 
रङ्गीनमा 'ह' छुटेको 
भेउ पाउँदैन कत्ति पनि, 
म रङ्गहीन छु कसरी भन्दो हो। 
ऊ त ब्यस्त छ 
तछाडमछाडमा 
रङ्गीन देखिने होडबाजीमा 
रङ्गीन बन्न होइन। 
#तछाडमछाड

Comments

Popular posts from this blog

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?