मेरो जन्मकथा, सन्दर्भ: संविधान दिवस
सन्दर्भ: संविधान दिवस
मेरो
जन्मकथा
२०६३
माघ १ गते जन्मिएकी मेरी आमा, जन्मँदै लङ्गडो जन्मिएकी थिइन् अरे। घिस्रिन सक्ने, दौडिन
नसक्ने मेरी आमाको गर्भमा मलाई राख्न ६०१ जना छानिने भएछन्। मिति तय भयो। २०६४ चैत्र
२८ गते। म दङ्ग थिएँ। सोच्दै थिएँ मेरी आमाको आमा, मेरी हजुरआमालाई। २०४७ कार्तिक २३
गते पदार्पण गरेकी मेरी हजुरआमा संसारकै उत्कृष्ट अनि ज्यादै राम्री थिइन् अरे। थोरै
जनाको बुद्धिले त त्यति राम्री हजुरआमा जन्मिएकी थिइन् भने म त अब ६०१ जनाको बुद्धि
अनि सुन्दरताले भरिपूर्ण हुनेछु। छाती फुल्यो ढक्क। गर्वले, गर्भमा नबस्दै।
चुनिएका
अनि छानिएका ६०१ बुद्धिमान्-बुद्धिमती र सुन्दर-सुन्दरीहरू दलबलका साथ उपस्थित भए।
त्यहाँमध्ये एउटा मुख्य टाउके छानियो। अनि त्यो टाउकेले अरु टाउके छान्यो। म मख्ख थिएँ
मेरा सुसारेहरू देखेर। मलाई गर्भमा नराख्दै म जन्मिने मिति तय गरेको देख्दा कहिले आमाको
गर्भबाट बाहिर निस्कुँला भएको थियो। समय बित्दै गयो। अघि छानिएको मुख्य टाउके फेरियो।
टाउकेसँगै स-साना टाउके पनि फेरिए। मलाई गर्भमा के राखेका थिए, दिनहुँ झगडा हुन थाल्यो।
मलाई जन्माउन छानिएकाहरू कर्मथलो आउन छाडे। एउटा टोली मलाई गर्भाशयमा खुराक पठाउन लाग्दा
अर्को टोली चित्त नबुझेको संकेत गर्दै आन्दोलनको चेतावनी दिन्थ्यो। म ट्वाल्ल पर्थें।
त्यो खुराक खाने कि नखाने? अरुको चित्त नबुझाई खाएको खुराकले छेरपाटे लाग्यो भने? अस्तिसम्म
गोरु नारिएझैं नारिनेहरू आज पानी बाराबारको स्थितिमा पुगे, अनि अस्ति विपरित ध्रुवीय
कुरा गर्नेहरू नारिएको देख्दा हजुरआमालाई त बिर्सिसकेछु। बरु लङ्गडो आमा जत्तिकै भएपनि
हुन्थ्यो भन्ने सोच हाबी भयो। मेरी आमाको मुहार हेरें। मायालाग्दो अनुहारमा सकस भाव
बोलिरहेकी थिइन्-"अब तँ मर्छेस्, तँलाई मार्छन्..।" भुक्क-भुक्क; मेरी आमाको पेटमा लात हानियो। कुर्सी
बजारियो। मेरो सपना तुहियो। म तुहिएँ। मसँगै करोडौं नेपालीको सपना तुहियो।
सारा
नेपाल फेरि उही किक्ली-किक्ली परेकी मेरी आमाले धान्ने भइन्। धानिन् पनि। २०७० मंसिर
४, अर्को ६०१ छान्ने होडबाजी चल्यो। मेरो भड्किरहेको आत्माले ती उल्लुहरूलाई स्वीकार्न
सकिरहेको थिएन। मेरी आमाले तमाम नेपालीहरूप्रति ईशारा गरिन्। म चुप रहें। मेरो आत्मा
शान्त भयो। म गर्भमा बसें। मान्छे उही थिए। आमा उही थिइन्। म उत्साहविहीन थिएँ। पहिले
गर्भमा बस्दा गर्भवती भएका अरु नेपाली दिदीबहिनीहरूका छोराछोरी स्कुल पढ्ने भैसके।
नाकका पोरामा सिँगान सुरुक्क माथि तान्दै स्कुल जानेहरू अचेल पार्कतिर डेटमा भेटिन्छन्।
भर्खर भर्खर डेट जान लागेकाहरू 'माया एउटासँग बिहे एउटासँग' भन्दै दुराने फर्काइरहेका
भेटिन्छन्। मलाई फिक्री पनि त केही थिएन। न मलाई स्कुल पढ्न जानु थियो। न त पार्कमा
डेटिङ नै। बरु सबैले म जन्मिने बित्तिकै पढ्नेछन्। कतिले त घोक्दा पनि होलान्। कतिको
परीक्षामा पास बनाइदिने पनि मै हुनेछु। कालो कोट लगाउनेहरूको लागि त म गास-बास-कपासभन्दा
पनि माथिल्लो श्रेणीमा रहनेछु। म यी यावत् कुराहरू यसै सोचिरा’ पनि त हैन। कमसेकम ती
उल्लुहरूका कचहरी त सुन्नु पर्दैन। ती फेरिरहने टाउकेहरूका टाउका गन्दै त बस्नु पर्दैन।
सबै कुरा पृष्ठभुमिमा छाडिदिएर अलिकति रमाउन त सिकिरहेको छु। वैशाखी बिनाकी लङ्गडी आमा अनि तमाम नेपालीहरूतर्फ औंला तेर्साउँदै मनले एक चड्कन लगाइहाल्यो, मेरो मगजलाई।
हत्तपत्त पृष्ठभुमिमा ध्यान मोडें। लुटेको धनले फुपुको श्राद्ध गरिरहेका उल्लुहरू
पुन: उही टाउका फेरबदलमै तल्लिन देख्दा असह्य भयो। आमाको गर्भाशयबाटै झकझकाउन थालें।
ढकढकाउन थालें। विचरी मेरी आमाको गर्भाशय छेदन हुनै लागेको थियो। बाहिर हल्लाखल्ला
मच्चियो। भागाभाग भयो। कानमा परिहाल्यो-"नेपालको धरहरा ढल्यो रे!" म स्तब्ध
भएँ। कतै मैले आमाको गर्भाशयबाटै झकझकाउन खोज्दा सारा नेपाल नै हल्लियो कि?
बिस्तारै
बाहिर चियाएँ। खातका खात पानाहरूमा कलम दौडिरहेका थिए। कुनै गुट्मुटिएर नजिकैको डष्ट्बिनमा
पुग्थे। कुनै फाइलिङ भएर अलि परको गोलो टेबलमाथि पुग्थे। हप्तादिनमा त्यो टेबलमाथि
पुगेकाहरू केरकार भएर अर्को फाइलमा उक्लिन्थे। उत्साहविहीन बसेको म बिस्तारै उत्साहका
पालुवाहरू पलाउँदै आइरहेका थिए। लाग्थ्यो ती सबै पानाहरूको सफ ममाथि उतार्नेछन् अनि
रङ्गाउनेछन् मलाई। "कपडा लगाइदेलान् कि नाईं"-सोच्दै थिएँ यस्तैयस्तै। आँखाले
भेट्टाइहाल्यो नीलो बाक्लो कपडामाथि सुनौला अक्षरहरूले कुँदिएको "नेपालको संविधान
२०७२"। त्यै कपडामाथिको भित्तोमा रहेको भित्तेपात्रो मुस्कुराइरहेको थियो। ऊ लगायत
करोडौं नेपालीहरूको भित्तामा झुन्डाइएको भित्तेपात्रो धपधपी बलिरहेका थिए। बिस्तारै
कालो रङको असोज ३ रातो बन्यो। आकाशमा आतीशबाजी भए। सर्वत्र हर्षको संचार भयो। र.. र
म जन्मिएँ।
Comments
Post a Comment