चढेर त हेर..!!

कविता
चढेर त हेर..!!

तिमी अन्धकार भन्छौ
म संसार उज्यालो देख्दछु
अझै उज्यालो देख्दछु नेपाल
म जस्तै तिमीसँगको  भेटमा
म आत्तिन्छु बेस्सरी
उज्यालो मुहारमा जुर्मुराएको
अँधेरी देख्दछु अनि
मुस्कानमा नच्यातिने ओठ
अँधेरीमा लुकेको रश्मि
त्यो उज्यालोको
आशातीत म बेस्सरी हाँस्दछु
पिठ्युँमा बोकेको झोला
फुत्त भुँइमा खस्दा
छरपष्ट पोखिन्छन् लक्ष्यहरु
म टिप्न खोज्छु
ऊ सहयोगी आउँछ
एउटै कुरा पाउँछ
'तिमीलाई हँसाउन सकूँ'
'त्यो चस्मा खोल्न सकूँ'


तिमी रुवाई अनि कोलाहलको कुरा गर्छौ
म त्यसैमा सन्नाटा देख्दछु
उडिरहेका चङ्गा देख्दछु
अनि रमाइरहेका सपना
तिमी सपनाको पोको झोलामा कोचेर
अर्काको सपनामा सफर गर्छु भन्दा
म निशब्द हुन्छु
बुझ्छु कुरा नबुझेझैं गर्छु
तिमी भन्छौ हवाईजहाज
म भन्छु सपना
फेरि भन्छौ हवाईजहाज
म - आफ्नो सपना
तिमी डेग चल्दैनौ
तिम्रा ओठ चलायमान हुन्छन्
मेरा कानले धर्म छाड्छन्
आँखाले भेउ पाइहाले
उही हवाईजहाज
म हार मान्दिन
भन्छु आफ्नै सपनाको जहाज
मन्द मुस्कानमै थपिदिन्छु

चढेर त हेर..!!

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?