ऊ, आफ्नी तर अर्काकी: भाग-२

कथा 

ऊ, आफ्नी तर अर्काकी 
भाग-२ 

हतार हतार उसको नं डायल गरें। पुरै घन्टी जाँदासम्म उसले रिसिभ नगरेपछि एउटी केटी बोल्न थाली 'भ्वाइस मेसेज...'। कि-पेडको रातो बटन थिचेर पुन: २ पटक लगातार हरियो बटन थिचें, पुनः पुरै घन्टी अनि त्यसपछि सोही भ्वाइस मेसेजवाली। आफ्नो fb log out गरेर उसको email id र मेरो नाम अंकित उसको password टाइप गरी log in गर्न खोजें। "You have recently deactivated your account. Do you want to reactivate it? Next/Cancel "; यी दुई options ले एकैछिन रोकिन बाध्य गरायो। उसको मनमर्जी र खुशीले गरेको कुरालाई उसकै स्वतन्त्रता हनन गरी activate गर्न मनले मानेन।

विगत ३ वर्षदेखि आफ्नोपन बोकेकी ऊ, अनि करिब ५ वर्षदेखि पहिलो wisher को रुपमा स्थापित म, आज छैटौं वर्षको अन्तिम wisher बन्न खोज्दा पछारिएँ जस्तो लाग्यो। विशाल महासागरबाट जनतन किनार भेट्याउनै लाग्दा पुनः चन्द्रमा र पृथ्वीको गुरुत्वाकर्षणको फलस्वरूप बीचमै पाएँ सायद आफुलाई।

"जन्मदिनको शुभकामना
सधैं सुखी, खुशी रहनु..." लेखेर sms गरें।

सन्नाटायुक्त रात,
अनेकन कुराहरुले तरङि्गत म,
पृष्ठभुमिमा उसलाई मनपर्ने गीत (जब साँझ पर्छ तिम्रो याद बढ्छ...),
मनमा मलाई मनपर्ने मान्छे, अनि....
अनि मस्तिष्कमा हाम्रो पल।

पल्लो घर दुध लिन जानुभएको आमा "तेरो साथीको त बिहे हुने भएछ नि" भन्दै कोठामा आइपुग्नुभयो। "के भन्नुभा' कुन साथीको बिहे हुने भएछ" अर्धनिन्द्रामै सोधेँ। त्यै रमेशको काकाकी छोरी, नाम त तैंलाई थाहा होला नि। हामीले त सानी सानी भनेर बोलाउँथेम् पराइ घर जाने भैसकिछे। अर्धनिन्द्राको म, होसमा आउनु अगावै छाँगाबाट खसेजस्तो भयो।

हिजो भर्खर मङ्सिरमा उही सानीसँग बिहेको कुरामा "मङ्सिर पनि लाग्यो बिहे गर्ने होइन त?" भनेर जिस्किँदा,
"जाऊ तिमीसँग त गर्दिन। मेरो आँखा फुटेको छ र यस्तो फटाहासँग बिहे गर्नलाई। तिमीसँग त लप मात्र गर्ने हो" भन्दै एउटा आँखा झिम्का'र जिब्रो बाहिर निकालेको अनुहार :P पठाकी थिई च्याटमा। अनि... अनि लगत्तै २ वटा पानको पात ♥ ♥ पठाएर नआत्तिऊ न अबको ४-५ वटा मङ्सिरमा त पक्कै गरौंला नि भनेकी थिई। सोचेको थिइनँ मङ्सिरलाई उछिन्न यसरी माघ आउँछ भनेर। अझै...अझै आफ्नी सानीको बिहे, दिमागमा अटाउने कुरै भएन। भित्रभित्रै भक्कानिएँ, अनेकन कुराहरु रबर बलजस्तै यताउता तलमाथि ठोक्किन थाले मगजमा।

"अझै बिस्तारामै रहेछ। चिया सेलाइसक्यो..." आमाको कुरा सकिन नपाउँदै मैले सोधें, "त्यो सानी त मसँगै होइन र पढ्ने। बल्ल त दोस्रो वर्ष चल्दैछ, कहाँ अहिल्यै बिहे हुनु पढाई नसकी।"
"लौ यो त सानीको बिहे सोचेर पो बसिरा'रैछ। खोइ त्यो त मैले के जानू। अमेरिकी कार्डहोल्डर आ'को रैछ दिए होलान् नि राम्रो ठाउँ पाएर।"
यत्तिकैमा रातभर गीत बजेर ब्याट्री डाउन भएको मोबाइलमा पिलिक-पिलिक बत्ती बल्यो।
3 new messages 2 missed calls अनि low battery
Home screen मा देखा परेका यी तीन कुरा।
हत्तपत्त मोबाइल चार्जमा राखेर messages, missed calls हेरें।
उही अर्काकी सानीको रैछ। लेखेकी थिई:
-धेरै धेरै धन्यवाद। तिम्रो आशिष लागोस् ;)
-m@home
-आज दिउँसो भेटम् न हामी 
"भेट...आवश्यक छ र? के साइनोले भेट्ने हामी, कुन चाहिँ कुरा गर्न भेट्ने, कि दा भिन्चीको The Last Supper जस्तो The Last Meet भन्ने Title को लागि भेट्ने" सोध्न मन लाग्या'थ्यो, केही सोध्ने साहस रहेन अनि Ok मात्र लेखेर पठाएँ।

लाग्थ्यो विश्वासमा अडेको छ हाम्रो सम्बन्ध। नलागोस् पनि कसरी सारा संसार नै विश्वासमा अडेको बेला।
पत्तो नपाउँदै भत्किएछन् विश्वासका सिँढीहरु। फुटिसकेछन् सिसाजस्तै झर्‍यामझुरुम सबै सपनाहरु।बिलाएछन् विगतका सबै सम्झौता। फिर्ता लिइएछन् वाचा कसम। अनि..अनि लुटिदैछे ऊ...आफ्नै आँखा अगाडि...बाजा बजाएर। अहो! आश्चर्य, वर्षौं लगाएर कैयौं इट्टाहरु जोडी, रडहरु बुनेर मजबुत ढंगले निर्माण गरेको त्यै विश्वास...हो त्यै विश्वास जुन भत्किदैछ अमेरिकी स्क्याभेटरले। त्यस्तै नेपाली भित्तामा झुन्डाइएका रङ्गीन स्वाभिमानी सपनाहरु... पछारिँदै छन् अमेरिकी मार्बलमाथि।
अनि...अनि कुनै औपचारिकता बिना नै... ऊ जाँदै छे... धेरै टाढा... अर्काकी भएर... अमेरिका।
...क्रमश:

भाग-३ को लागि यहाँँ जानुहोस् >>> ऊ, आफ्नी तर अर्काकी: भाग-३

2 comments: