ऊ, आफ्नी तर अर्काकी: भाग-३


कथा

ऊ, आफ्नी तर अर्काकी
भाग-३

पिलिक-पिलिक मोबाइलमा बत्ती बल्यो।
नोटिफिकेसनमा थियो - "You missed a call from She."
यत्तिकैमा "She sent you a message."
लेखिएको थियो "m coming.."
सोचें भेट हुने कुरो पो थ्यो क्यारे।

लगाइरहेको टि-सर्ट बाहिर सर्ट हालें। पेन्टको पछाडिको खल्तीमा पर्स राखें। पानीले हात भिजाएर कपाल मिलाउँदै घर अगाडि पुगें। आँखाहरु वरपर भन्दा पनि पर त्यो अर्काकी निश्चित भइसकेकी आउने बाटोतिर लम्किरहेका थिए। खोजिरहेको थियो एउटा सेतो स्कुटी, त्यसमाथि टुसुक्क बसेकी, चस्मा लगाएकी, सम्भवत हरियो हेडबीनले कपाल पछाडि फ्याँकेकी.... यस्तै यस्तै के-के सोच्दासोच्दै च्याप्प समाइहाल्यो उसलाई मेरा आँखाले। आफ्नै रफ्तारमा आइरहेकी , अलि परबाट स्पीड कम गर्दै ब्रेक लगाउँदै ठ्याक्कै मेरै अगाडि रोकिई।
आँखा जुधे। उही चस्मा भित्रका मृगका जस्ता आँखाबाट इशारा आयो 'पछाडि बस' मेरा आँखाले इशाराभाव पठाए परन्तु मस्तिष्कले गोडाहरुलाई चलायमान बनाउन सकेन। अनि...एकटक जुधिरहे। नझिम्किइकन। निस्बाद रुपमा प्रेमिल आँखाहरु। करिब एक वर्ष पछिको हुँदो हो त्यो प्रत्यक्ष जुधाई।

"चलाउँछौ" उसले आवाज दिई।
"नाईं, बस्छु" पछाडि बसें।
"कता जाने?" उसले सोधी।
"जता लैजान्छौ" सोचेजस्तो गरेर भनें।
उसको उज्यालो मुहार अनि मन्द मुस्कान अगाडिको ऐनामा ठोक्किँदै मेरो आँखामा बिसाइरहेका थिए। व्यस्त थिएँ, सेतो हेलमेट भित्रको गतिविधि नियाल्न अनि...अनि भित्रभित्रै गदगद भएर मुस्काउन।
"किन हाँसिरा'को?" केही बेरको चुपचापपछि उसले मुख फोरी।
"हँ, के भनेकी?" नसुनेझैं गरें।
"किन त्यत्तिकै हाँसिरा भन्या नि उल्लु" उसले फर्काइ।
"हाँस्न नि नपाउने !" कानै नजिक गएर भनें।
"नपाउने नि" जिस्किँदै भनी।
"किन, कारण चाहिन्छ ?" पनि जिस्किएँ।
"अनि के !" फर्काइहाली तुरुन्तै।
"अनि केत्-" मैले पनि थपिदिएँ।

गाउँघरबाट करिब दस किलोमिटर टाढा गएर स्कुटी रोकियो।
"पेट्रोल सकियो?" जिस्किएँ।
"अँ, सकियो। अब धकेल्दै घर पुर्याउनुपर्छ।" पनि के कम 
"जिस्किने बानी अझै 'को छैन है!" मैले भनें।
"सङ्गतगुनाको फल" कडै दिई।

साल, सिसौ अनि सिमलका रुखहरु, एउटा यहाँ अर्को त्यहाँ अर्को अल्लि उता, पातला पातला फिँजारिएका जस्ता थिए। तलतिर धान काटेर केही नलगाएका बाँझा खेतहरु थिए अनि पानी हिँड्न छोडेको एउटा सानो नहर।
सम्झें त्यो पहिलो भेट, त्यो सिमेन्टीको जङ्गल, ग्राभेल भन्न लायक त्यो पिच बाटो, पाइप फुटेर बाटोमा बनेका ती ससाना ताल, धुलो उडाउँदै घुइँकिने ती मोटर गाडी, त्यो सानो क्याफे, अनि दुई घुट्को कफी।
मेरो फर्माइसको त्यो पहिलो भेट अनिअनि उसको फर्माइसको सम्भवत अन्तिम भेट।

"सन्चै छौ?" उसले सोधी।
"जाने बेला भयो !" मेरो जवाफ।
सधैं अन्तमा छुट्टिने बेला एकाअर्कालाई सोधिने हाम्रो विशेष प्रश्न।
"किन, जान मन ?" औपचारिकता मिसिएको बोली आयो।
मेरो मौनता।
"किन बोल्दैनौ के तिमी ?" उसैले मुख फोरी।
"के नै बोल्नको लागि" मनमनै सोचें अनि भनें- "तिमी साँच्चै जान लाको हो?"
"कहाँ ?" नबुझेजस्तै गरी।
"थाहा छैन मलाई।" च्याट्ठिएँ।

आड लाइरा'को रुखबाट अल्लि परको लाम्चो ढुङ्गामा गएर बसें। पनि आई अनि मेरो देब्रे काँधमा आड लाएर बसी मानौं हामी डेटिङ नै आएका थियौं।
गहिरो मौनतामा डुबुल्की मार्दै गर्दा
"स्याने" उसले भनी।
"एउटा कुरा सोधुँ" फेरि उसैले थपी।
"हम्" पग्लिसकेको केही आवाज निकाल्न सकिन।
"रिसाउँदैनौ नि है!" उसले भनी।
"हामी सधैंको साथी हो नि है!"
टाउको झुकाएजस्तो गरें।
"मानौं मेरो टीकाटालो भएको छैन, के गर्छौ??"
निलो आकाश एक्कासि मडारिएर आयो। बेजोडले हावाहुरी दौडियो। झमझम पानी दर्कियो असिनासितको, आँधीबेरी चल्यो। तर, कठै सानो नहरमा पानी हिँडेन, रुखका पातले सास पाएनन्। 
त्यो प्रश्न थियो या वाणरुपी आशा, पत्तो पाउन सकिन। उसको हातले मेरो हात कसेकी थिई, बेस्सरी, निस्फिक्री, मानौँ कहिल्यै नछुटिने गरी। एकैछिन सन्नाटा छायो। सायद दुई मन वार्तामा थिए।

"मैले टीकाटालो हुन दिइनँ।" उसले भनी।

"बाहिर सरेको नाटक गरें।" फेरि उसैले थपी।

Comments

Post a Comment

Popular posts from this blog

तछाडमछाड..!!

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?

मुक्तक भलाकुसारी