म अवाक् भएँ - "समाज के भएछ??"

कथा
म अवाक् भएँ - "समाज के भएछ??"

उ.. परबाट हुइँकिदै आएको कार हाम्रै अगाडि आएर रोकियो। गाउँमा फाट्टफुट्ट देखिने कारभन्दा अलिक फरक थ्यो त्यो कार। सम्भवत गाउँको लागि, अझै भनम् हाम्रा लागि नयाँ थ्यो त्यो आवरण। कहिलेकाहीँ देखिने सेन्ट्रो जस्तो पनि त थिएन।

कालो चस्मा, सेतो सर्ट, खैरो पाइन्ट, टिलिक्कै टल्केको खैरै जुत्तामा एउटा परिचित लाग्दो अनुहार बाहिर निस्कियो। कताकता देखेदेखे चिनेचिने जस्तो, ठम्याइनसकेको त्यो अनुहार खिस्स हाँस्यो। गालामाथी आँखाका किनारैमा मुजा पर्यो, ५-६ धर्के।

भन्यो - "नमस्ते काका! नमस्ते काकी!"
मेरो छेउमै आएर - "ओहो..! झिल्के भएछ त छोरो।"
टाउको मुसार्दै "जुँगाका रेखी पनि बसेछन्, लक्का जवान भएछ नि। गर्लफ्रेन्ड त होला नि" आँखा सन्कायो।
यति बेलासम्म ठम्याइनसकेको म, "अनि नरेश बाबु कहिले आउनुभो त, देशाँ हुनुहुन्थ्यो होइन र" मुढा सार्दै आमाले भन्दा पो झसङ्ग भएँ। ७ वर्ष अगाडि रमा दिदीको घरमा कोही नभएको बेला खोइ के गरेर हो सबैले थु-थु गरेर गाउँनिकाला गरेका त्यै नरेशे पो रहेछ। यत्तिकैमा ऊ फटाफट कारतिर गयो। चुँइक्क पार्यो। ढोका खोल्यो। एउटा मिठाईको किस्ती जस्तो बोकेर सरासर आयो। आमातिर अगाडि सार्यो। भन्यो "निकाल्नुहोस्।" चेप्टा, लाम्चा, गोला, ईट जस्ता विभिन्न प्रकारका मिठाईले भरिएको त्यो किस्ती देख्ने बित्तिकै मुख रसायो। लाग्यो सप्पै टिपेर भागूँ। सोचें भागेर पो जाने कहाँ। बातिर लम्कियो। बाले निकाल्दै गर्दा के को उपलक्ष्यमा हो मिठाई, सोध्नुभयो। ऊ खिस्स हाँस्यो। पुनः मुजा पर्यो। मिठाईको किस्तीले मलाई निकाल्न आग्रह गर्यो। निकाल्ने कि ननिकाल्ने अलमलमा परें। सम्झिएँ त्यो दिन, त्यो कचहरी; भाउन्न छुटेर आयो। सोचें बाआमाले त निकालिसक्नुभयो, मैले ननिकालेर के नाप्नु छ र? निकालें मैले पनि; दुईटा। एउटा उसैले थपिदियो। भन्यो -"ऐले म लाग्छु। पछि भेटौंला नि।" अनि सुइँकिहाल्यो।

ऊ गयो। परन्तु अनेकन प्रश्नहरू खाँबो गाडिएझैं गडिरहे मनमा। "यो मान्छे किन आयो? बाआमाले कसरी सजिलै स्वीकार्नुभयो उसको आगमन..?" यस्तै यस्तै कुरा खेल्दै थिए। बा बोल्नुभयो -"देशाँ होइन उता राजधानीतिर छ क्यारे यो। दलाली गर्छ रे जग्गा र मान्छेको, अस्ति फोनमा भीमेले भन्थ्यो। भीमेले पढाउने कलेज नजिकै एउटा मेनपावर कम्पनी चलाउँछ रे। कतिको पैसा खाएर पुलिस-केस पनि परेको छ रे।"
"अनि गाउँबाटै त्यसरी निकालिएको मान्छे आज लड्डु ल्याएर चैं किन आएछ त?" आमाको प्रश्नमा बाले भन्नुभयो - "होला केही स्वार्थ; समयले बताउला। भैगो छाड्दे यी अरुका कुरा, जाँऊ हिँड खाना खान। आज चोकाँ कार्यक्रम छ रे, ढिलो हुन्छ उता जान।"

खाना खाइसकेपछि,
"साइकल निकाल्दै गर त कान्छा।"
थप्नुभयो - "तँ पनि जाने होलास् नि, अर्को लुगा लगा, कपाल-सपाल कोर।"
बाका खस्रा गालामा ब्लेड दौडन थाल्यो। स्कुल पढाउन जाँदा लगाउने कमिज अनि कमिजमा दुईटा कलम राख्नुभयो; रातो र कालो; बाको चिनारी जो थियो। कालो पाइन्ट लगाउँदै गर्दा भन्नुभयो - "सावित्री, कति दिने होला त्यहाँ क्लबमा, पैसा त पक्कै सहयोग माग्नेछन्।"
"के थाहा त मलाई" भाँडा मस्काइरहनुभएकी आमा बोल्नुभयो। थप्नुभयो - "अस्ति भर्खर पनि तीजको लागि भनेर कति दे'को भन्या होइन।" बाले हाँस्दै - "अब दशैंको लागि भनेर पनि त दिनुपर्ने होला नि।" जस्तो जे आइपर्दा पनि हाँसेर टारिदिने बाको बानीमा साँच्चै सार्थकता झल्किन्थ्यो, जीवन जिउनुको। त्यसैले त सबैले मान्छन् नि। नमानुन् पनि कसरी, स्थापनाकाल देखिको हेडमास्टर पो हुन् मेरा बा, मेरो स्कुलको। "कस्तो स्कुल कस्तो बनाए, गरे के हुँदैन र!" गाउँका भद्र-भलाद्मीका मुखबाट मैलै कति सुनेको छु। मेरा बा, छाती फुलाउने मेरो आधार।

साइकल समाउनुभयो। चढ्नुभयो। भन्नुभयो - "बस्।" म अन्कनाएँ। बाले बुझिहाल्नुभयो - "लौ त अगाडि नै बस्।" म अगाडि बसें। यत्तिकैमा करेसाबाट आमाको आवाज कानैमा ठोक्कियो - "एउटा स्कुटी किन्नु भनेको मान्ने होइन, त्यही बूढो साइकल लतारेको छ लतारेको छ।" "बुढेसकाल लाग्यो नि कहाँ चलाउन सकिन्छ र हाम्ले" बा ङिच्च हाँस्नुभयो। पेडलमा लात्तीले बल लगाउँदै साइकल हिँड्यो। म चाहिँ किर्लिङ् किर्लिङ् घन्टी बजाएँ। बाटोमा हिँड्ने प्राय सबैले शिर निहुराएर आदर गर्थे बालाई। बाले पनि हाँस्दै टाउको निहुराउनुहुन्थ्यो। भन्नुहुन्थ्यो - "चोकाँ भेटम्ला।"

चोक आइपुग्यो। झकिझकाउ भा'रैछ। त्रिपालको टेन्ट अनि खाटहरु मिलाएर स्टेज। स्टेज माथिको स्पिकरमा "चट्ट रुमाल क्यामालुँ" अनि ठुलाठुला अक्षरमा "शुभ दशैं"। ब्यानरको मुनिपट्टि सानो अक्षरमा - सभ्यता युवा क्लब, भरतपुर। मन रमायो। चङ्गा भयो। उड्यो आकाशमा। एउटा बादलबाट अर्को, अर्कोबाट अर्को, अनि अर्को, उडिरह्यो।

कार्यक्रम सुरु भयो। माइकमा बोल्ने त हाम्रै रमा दिदी पो रहिछिन्। रमा दिदी भन्ने बित्तिकै त्यै बिहानको घटना याद आयो। भाउन्न छुट्यो फेरि। नवज्योति माध्यमिक विद्यालयका हेडमास्टर, मेरा श्रद्धेय गुरु भनेर बाको नामले मञ्चमा बोलाउँदा ढक्क छाती फुल्यो, गर्वले। बा अगाडि जानुभयो, बोल्नुभयो, अन्त्यमा "सधैं खुशी सुखी रहनु" भनेर "शुभ दशैं" थप्दै बिदा हुनुभयो। सबैले ताली बजाए - पररर। मैले पनि बजाएँ। नाटक सुरु भयो। यौनहिंसा, जुवातास अनि मद्यपानको राम्रो उठान गरेको भनेर नेपाली पढाउने गुरुले मुक्तकण्ठाले प्रशंसा गर्नुभयो। अझै रमेश ठुल्बाले त नाटक टोलीलाई आफ्नो पसलबाट एक-एकओटा फ्रुटी पुरस्कार स्वरुप घोषणा गर्नुभयो।

यत्तिकैमा एउटा कार आयो। बिहानकै। मेरा बाले साइकल राखेको छेउमा गएर राख्न खोज्यो। साइकललाई छोइहाल्यो। ढल्यो। हाम्रो साइकलले अर्कोलाई ढलायो, अर्कोले अर्कोलाई अनि अर्कोलाई, सबै गर्ल्याम-गुर्लुम ढले। सन्नाटा छायो एकैछिन। ढोका खुल्यो। बिहानकै मान्छे। नरेशे - मन बोल्यो। बाहिर जे भनेपनी मन नरेशे नै भन्छ, मस्तिष्कले प्रतिवाद पनि गरेन, गरोस् पनि कसरी। फेरि भाउन्न छुट्यो। बाको साइकल उठायो। अरु छोड्यो। सोच्यो होला कारले एउटा मात्र त छो'को थियो। याद नै नगरेको, रमा दिदी त अघि नै खद्रङ्ग भैसक्नुभा'रैछ। कतिले चिने चिनेनन्। रमा दिदीको बोली काँप्यो। भेउ त कसैले पाएनन् होला। अर्जुन दाइलाई माइक थमाउँदै रमा दिदी पर्दा पछाडि हुनुभयो।


नरेशे आइपुग्यो। चस्मा खोल्यो। धने दाइले नमस्ते गर्नुभयो। नमस्ते फर्कायो। म दङ्ग परें। धने दाइ देखेर। मान्छे चिनेर गर्नुभयो कि नचिनेर। कारलाई गर्नुभयो कि मान्छेलाई, केही भेउ पाउन सकिनँ। दुई जना एकैछिन खासखुस गरे। धने दाइ अगाडि जानुभयो, अर्जुन दाइलाई एउटा चिट थमाएर पछाडि आउनुभयो। अर्जुन दाइको आवाज स्पिकरले सबैको कानमा पुर्‍यायो। सबैले ताली बजाए। होइहोइ गरे। भन्नुभएको थियो - "यसै टोलका निमेष कार्कीबाट एघार हजार एक सय एघार रुपैयाँ।" म दङ्ग परें। नरेश निमेष भएछ। हिजोको गाली ताली भएछ। बालाई पुलुक्क हेरें। मञ्चमा आसिन बाले ईशारा गर्नुभयो - जाऊँ हिँड। म लुत्रुक्क परेर बाहिर निस्कें। सम्झें नाटको किस्सा - यौन हिंसा। म अवाक् भएँ - "समाज के भएछ??"

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?