सुनिताको सन्तोष


कथा
सुनिताको सन्तोष

(पात्र अनि कथाका अंश काल्पनिक हुन्। कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ।) 

कुँडो ठिक्क पारेको छु। आगो फुक्दै गरेस् है। सुनितालाई उठाउँदै रमा भाउजू पँधेरातिर लागिन्। ५ मिनेट न आमा, निद्राकै तालमा कराई सुनिता। मगर्नी कान्छीको कुखुरोले सबै गाउँलाई उठाइदिन्छ। गतिशील बनाइदिन्छ। पल्लाघरे साईंला काका'काँ आज नि बाच्छी फुकेर दूध सबै सकाएछ। बिचरी काकीलाई कराउँदै थिए काका। उता कुर्देल बा'काँ ट्यामी बज्दै थियो। गाई बाँ गर्दै थिए, भैंसी आईं। बाँसघारीका डाँङ्ग्रे पनि एउटा तालमा कराएजस्तै लाग्थ्यो। बाल्टीमा दुधका सर्का पर्दा एउटा छुट्टै ध्वनिको सिर्जना भएको थियो।

सुनिता ब्युँझी। हत्तपत्त मोबाइल हेरी। ५ मिनेट भनेर आधा घण्टा सुतिछे। आज नि मार्ने भइन् आमैले अब। कुँडो बसालेर गाई दुहुँदै थिइन् आमै। हातमुख धोएर कुँडो छेउको पिर्कामा बसी। टुसुक्क। दुध घटाएछ गाईले। हिजो दिउँसो दानापानी दिएनछन् क्यारे। एकदिन घर नभएको केही गर्न सक्तैनन्। यिनीहरूका उमेरमा त अर्काको घर समाल्थिम् हाम्ले। आमा कराउनुभो। ला, यो दुध खना। झट्टै बाल्टी ल्याएस्। भैंसी अघि पौरिएन, अहिले दिन्थ्यो कि? दुई मानो आफुलाई राखेर एक ट्यामी दुध साइकलको अगाडि झुन्डाइदिंदै भनिन् - "चोकरको दाम नि सोधेर आएस्।" अल्लि ढिला भएछ क्यारे। लाइन त लामो भएछ डेरीमा। साइकल छेउमा राखेर लाइनमा बसी। निस्कने बेला सन्तोषसँग भेट भयो। 'सन्तोष' नामै काफी छ, सुनिताको ओठमा मुस्कान भरिदिन। पल्लो गाउँको मुखियाको एकमात्र छोरो। एकमात्र यसअर्थमा कि ३ दिदीमुनिको एउटो छोरो। पढाइमा एकवर्ष जेठो थियो सन्तोष। एउटै कलेजमा ११ र १२ मा पढ्थे, सुनिता र सन्तोष। १२मा पढ्दै गर्दा भनेको थियो - "अब त म काठमाडौं जान्छु, तँ एक्लै हुन्छेस्। छिट्टै सकेर काठमाडौं आएस् है।" रुँदै हवस् भन्थी बिचरी सुनिता। 
"चोकरको दाम कति रैछ त?" आमाले सोध्नुभयो।
"ला, मर्लक्कै बिर्सेछु।" जिब्रो टोक्दै भनी। मनमनै उही सन्तोषलाई सम्झी।
"कहाँ छ अचेल यसको ध्यान। केही काम राम्रोसँग गर्ने होइन।"
"तपाईंलाई सताउने काम त राम्रैसँग गरेको छु भो।" जिस्किँदै भान्सामा छिरी। 

समय बित्दै गयो। सयौं सूर्योदयहरू अस्ताए। एउटा सूर्योदयसँगै सन्तोष पनि काठमाडौं हानियो। घरमा भन्दा बेसी फोन सुनितालाई नै गर्थ्यो। बैंकमा काम गर्ने विषय लिएर पढेको छ रे, गाईंगुईं थियो गाउँभरि। सुनिता मख्ख थिई। वर्तमानका खुशीहरू भविष्यको क्यानभासमा सुरक्षित साथ राख्थी, सन्तोषसँगै मनाउने भन्दै। सपनाहरू कोर्थी। फुलबुट्टा भर्थी। रङ अनि रङ्गले पोत्थी। इन्द्रेणीका सातै रङ मिसाएकी थिई आफ्नो क्यानभासमा। सन्तोषले गर्ने फोन पातलिसकेका थिए। त्यही पातला फोनमा पनि एसाइनमेन्ट भन्दै राखिहाल्थ्यो। न सुनिताले एसाइनमेन्ट बुझ्थि न त पातलिएका फोन। ऊ त सन्तोष बुझ्थि, कोरेका र रङ भरेका सपना बुझ्थि।
सानै उमेरमा बा खसेका, बा'को माया पनि तिनै रमा भाउजूले पुर्याएकी थिइन्। पढाइमा सुनिता आँफैं अब्बल थिई। शिशुदेखि अहिलेसम्म एक पैसा कहीं बुझाएको छैन भन्थिन् रमा भाउजू। १२ सकिनै लाग्दा सन्तोषले सुनितालाई भनेको जस्तै सुनिताले आमालाई भन्थी - "अब त म नि काठमाडौं जान्छु, तिमी त एक्लै हुन्छ्यौ आमै।" "म नि तेरै पुच्छर लागेर जान्छु नि काठमाडौं।" खिस्सी मै उडाइदिन्थिन् रमा भाउजूले। नभन्दै सुनिता काठमाडौं जाने निधो भयो। भोलि बिहानै पल्लो गाउँको माइक्रो आइपुग्छ रे। छरपष्ट सपनाहरू बटुलेर झोलामा पोको पारी। सबैका आँखा रसाए। घर शुन्य भयो। गाउँ शुन्य भयो। सुनिता निस्की। बाटोभरि घर सम्झी। आमा सम्झी। त्यो आँगन, त्यो गोठ, त्यो गाउँ। गहभरी आँशु बनाएकी थिई। कताबाट सन्तोषसँग ठोक्किई, सपनामै। ओठ तन्किए। माथिसम्म। अघिको घरमा सन्तोष आयो। आँगनमा सन्तोष, गोठमा सन्तोष। सन्तोषसँगै गाई, सन्तोषसँगै नाची - बसेर उठेर।  

सन्तोषको परिक्षा चलिरहेको भनेर माधव आएको थियो बस स्टप। सुनिता खिन्न भई। आफु आउनुको साटो मामाको छोरालाई पठाएको भनेर रिस पनि उठ्यो। परिक्षा भनेर शान्त भई एकैछिनमा। माधवले सुनितालाई होस्टलसम्म पुर्याइदियो। अझै दुई दिन सन्तोषको परिक्षा हुने भएकाले तिनिहरूको भेट दुई दिन पर सर्यो। सुनितालाई जेलमा लगेर राख्देको जस्तै भयो। कोलाहाल काठमाडौं, कोही चिनेजानेको छैन, दुध बिना खाना पनि रुचेन। होस्टलको काँचो भात, काँचो तरकारी अहँ, केही मन परेन। केही रुचेन। पहिलो दिन यस्सो वरपर निस्किन्छे। हिँड्दै जाँदा कुन गल्लीबाट छिरी मेसो पाइने। आधा-घण्टाजति अल्मलिएपछि कताकताबाट फेला पारिछे। अर्को दिन निस्किने आँटै गरिने। सुतिरही दिउँसभर। सन्तोषको परिक्षा सकियो। होस्टल बाहिर आइपुग्यो। झुस्स बोकेदारी, कैलो कपाल, मिलेका आँखीभौं, ठुल्ठुला आँखा। हामफाली सिधै। बररै आँसु झारी। गालामा मायालु चड्कन लगाई। भनि - "निष्ठुरी।" के के भनेर गाली गरूँला सोचेकी थिई। सबै बिर्सी। असीम स्नेह अनि प्रेम हाबी भयो।
"लैजाऊ अब घुमाउन" हात अगाडि बढाई।
"कहाँ जान्छौ" च्याप्प समात्यो सन्तोषले।
"सन्तोषको घर" खिस्स हाँसी।
दुवैजना हाँसे।
चिडियाखाना पुगे। "यै रैछ है सन्तोषको घर" खिस्सी उडाई। त्यसपछी कृष्ण मन्दिर। अनि म:म: पसल। पहिलो पटक बफ म:म: खुवाइदियो सुनितालाई। सुरुमा केही भनेन। निस्किने बेला थु-थु गर्दै निस्किने बनाइदियो। "जनै खै तिम्रो? बाहुन भएर बफ म:म: खान्छन्?" सुनिता कड्किई। बाटोमै सुनपानीले छर्किदिई। आफुलाई पनि छर्किई। सन्तोष मौन रह्यो। यसरी लिन्छे भन्ने सोचेको थिएन शायद। ६-९को शो हेर्न पुगे। "धनपती" फिल्म सुरु भयो। फिल्मभरि आमालाई सम्झी। गहभरी आँसु बनाएर निस्की। कति पटक त थामिएनन् पनि।
"ला! अब म होस्टल कसरी जाने नि साढे नौ हुन लागिसक्यो, ८ बजेसम्म छिरिसक्नुपर्छ भनेकी थिइन् अस्ति मिसले" सुनिता आत्तिई।
"मेरैमा बसे भइहाल्यो नि, माधव पनि साथीकोमा गएको छ्।" एकैछिन सोचेजस्तै गरेर भन्यो सन्तोषले।
"आमासँग मागेर लैजाऊ न बसिहाल्छु नि।" फेरि थपी - "तैपनि तिमीले केही गर्यौ भने..?"
"ल ल होस्टल पुर्याइदिउँला विश्वास नलाग्नेलाई" सन्तोष अलिकति सन्कियो।
"नरिसाऊ न, भन्देको पो त।" फकाइहाली सुनिताले।
"खाना नखाने?" सन्तोषले कुरा मोड्यो।
"कसको पेटाँ खानु नि? पेट सापटी दिने भए खाइदिउँला।" हाँसोमै उडाइदिई।
"भुटन लगेर जाम है त अलिअलि गैहाल्छ नि"
"बफ चैं होइन नि फेरि"
"ल ल पोर्क लैजाम्ला त नि"
बडेमानको आँखाले तर्दै - "मर जाऊ" भनी।
कोठामा पुगे। भुटनलाई सितन बनायो। अघि लुकाएर ल्याएको ड्रिन्क्स गिलासमा खनायो। मार्ची कोर्यो। मैनबत्ती जलायो। सुरु भयो 'क्यान्डल लाइट डिनर'। "अलिकति त हो नि केही हुँदैन।" सुनितालाई एउटा गिलास थमाइदिदैं चियर्स् गर्यो। दुवैजना मात्तिन लागे। मत्तिए पनि। रित्तिए पूर्ण रुपले, एक अर्कामा। केही कुरै राखेनन् साट्न बाँकी।  

२ महिनापछि हुने प्रवेश परिक्षाको तयारीमा जुट्न थाली सुनिता। दिन बिराएरै भेट्थे साँझपख। सन्तोषको कलेजले भ्रमण लैजाने भयो सात दिनको। सुनितालाई सुनायो। "के ल्याइदिम् फर्किंदा" सन्तोषको प्रश्नमा "तिमी छिट्टै आऊ, केही पर्दैन" भनेकी थिई। भ्रमण सुरु भयो। साथीभाईसँगको रमझमले बिस्तारै सुनिता हराउँदै गई। दिनमा बिरलै एकपटक फोन गर्थ्यो, एक-दुई मिनेटमै राख्थ्यो चार्ज छैन भनेर। सुनिताले गर्दा सधैंं स्वीच अफ मात्रै भन्थ्यो। भ्रमण सकिएलगत्तै प्रोजेक्ट र प्रिजेन्टेसन छ, ५ दिनपछि भेट्ने भनेर म्यासेज गरेको थियो। उसको करियर उसको खुशी, केही भन्नै सकिने सुनिता। सम्झनाका तखता चाहर्दै दिन बिताउँथी। नयाँँ ठाउँमा बल्लतल्ल समायोजन भएकी सुनितालाई अर्कै टेन्सन थपिन्छ। सधैं २६ गते पर सरिसक्ने सुनिता २९ गतेसम्म पनि पर सर्ने छाँटकाँट देखिँदैन। सुनिता आत्तिन्छे। अनेक कुरा खेलाउँछे। सोच्न हुने/नहुने दिमागले भ्याउने/नभ्याउने सबै सम्झन्छे। ह्या कहिलेकाहीं ढिला पनि त हुन्छ नि, मन बुझाउँछे। इन्स्टिच्युट जान्छे, रित्तो जान्छे रित्तै फर्कन्छे। पढ्न बस्छे। एकाग्रता काबुमै रहँदैन। एउटा अक्षर पनि दिमागभित्र स्पर्श गर्दैन। ३० जान्छ। ३१ जान्छ। भित्ताको पात्रोले महिना फेर्छ। उसले आफ्नो महिना फेर्न सक्दिने। सन्तोष सम्झन्छे। मनको सन्तोष पेटमा सरेको सम्झन्छे। पेटको सन्तोषले मनमा सन्तोष दिँदैन। सन्तोषलाई डायल गर्छे। उसको प्रोजेक्ट सम्झन्छे। फोन काट्छे। आफ्नो जिन्दगी बर्बाद हुँदैछ उसको प्रोजेक्ट बिग्रेर के भो र, आँट बटुल्छे साहस बटुल्छे। फेरि डायल गर्छे। फोन उठ्छ। सबै कुरा भन्दाभन्दै फोन काटिदिन्छ सन्तोषले। फेरि गर्छे। स्वीच अफ हुन्छ। उसले चुलाएका वाचा कसम सम्झन्छे। बत्तीलाई साँची राखेर निधारमा चुम्बन गर्दै "तिमी मेरी हौ" भनेको सम्झन्छे। काठमाडौं आउँदा पोको पारेको त्यो सपना सम्झन्छे। "आमालाई भन् न त" खोइ कुन कुनो कराउँछ। धत्! के भनेर भन्नु। बा नहुँदा नहुँदै हुर्काएर यत्रो बनाउनुभयो, अब त्यही आमाको मुहारमा कालो दल्नु? रुन्छे धुरुधुरु।
"सुनिता, ए सुनिता.." होस्टल बाहिरबाट कोही करायो। माधव आएको रैछ। "तपाईंलाई यहाँ सामन छ है" गेटको डण्डीमा झोला झुण्डाइदिंदै थियो। तल झर्न नपाउँदै गैसकेछ। 'न्यू दार्जिलिङ शु सेन्टर' लेखिएको झोला भित्र एकजोर जुत्ता, एउटा पत्र अनि चार हजार रुपैंया थियो। एक पाना लामो पत्रको पुछारमा लेखिएको थियो - "माफ गरिदेऊ। झोलामा टेस्ट किट छ। एबोर्ट गर।"

थुचुक्कै बसी पिँढीमा। गहभरी आँसु भए। छचल्किए। गाला हुँदै त्यही झोलामा परे।
"कहीं लड्यौ हो नानी? खुट्टामा खुन लागेको छ त।" मिसको बोलीले सुनिता झसङ्ग भई। ब्युँझी। पाइजामा नियाली। जुरुक्क उठी। माथी दौडिई। हर्षको संचार भयो। पुरानो सन्तोष पेटको सन्तोषसँगै बग्यो। मनमा नयाँ सन्तोषले बास गर्यो।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?