शीर्षक के हो ??

कथा
शीर्षक के हो ??
(पोलर स्टार आ.मा.वि, भरतपुरको २०औं वार्षिकोत्सवमा वाचन गरिएको।) 

सौभाग्य, सौभाग्य शर्मा
वर्ष : १०
कक्षा : ४
बोर्डिङमा सामाजिक शिक्षा (Social Studies) पढाउने म्यामले लैङि्गक असमानता (Gender inequality) पढाउँदै हुनुहुन्थ्यो। "केटा र केटी दुवै समान हुन्। दुवैले बराबर अधिकार पाउँछन्।" म्यामले यसो भन्दै गर्दा सौभाग्यले प्याच्चै भन्यो - "त्यसो भए मेरो दिदीलाई किन स्कुल पठाको त?"
म्याम मौन रहनुभयो। यत्तिकैमा टिफिनको घण्टी बज्यो। बाइ बाइ क्लास भन्दै म्याम बाहिरिनुभयो। अनेकन कुरा खेलाउँदै ऊ घर पुग्यो। झोला बिसायो। भोक लाग्यो भन्दै ममीसँग करायो। आमासँग ऊ कहिल्यै कराएन। कराओस् पनि कसरी, अलिअलि बोल्न लाग्दा मम्मा-पाप्पा भन्न सिकाउँदै मेरो कान्छु बेटु भन्दै म्वाई खाने उही आमै त थिइन्।
"भान्सामा खाजा राख्देको छु, खाउ" टि.भी. कोठाबाटै आवाज आयो। ऊ रनभुल्ल पर्यो। बुझेन भान्सा भनेको के। पुग्यो टि.भी. कोठामै। कहाँ छ भन्या हो के, झर्कियो। सुनिनिन् ममीले त। Climaxमा पुगेको थ्यो क्यारे सिरियल, दत्तचित्तका साथ आँखै नझिम्काइ हेरिरहिन्। फ्याट्ट लाइन गयो। सराप्न थालिन्। सर्वप्रथम त बुढैलाई सरापिन् 'इन्भर्टर राख्ने भन्या टेर्ने होइनन्'; त्यसपछि बिजुलीलाई 'यै बेला जानुपर्ने, अरु बेला मर्या भए पनि त हुन्थ्यो'; अनि नेपाललाई। अनेकन शब्दहरूको प्रयोग गरेर। चराले चारो टिपेजस्तै टिप्यो, सौभाग्यले। यो पाली सोधेन यो भन्या के? त्यो भन्या के? पहिल्यै हकारिसकेकी भएकाले सोध्ने इच्छा पनि भएन क्यारे। बरु पेटको मुसा सम्झियो अनि सोध्यो - "कहाँ छ भन्या हो खाजा?" मेरो टाउकाँ भन्दै किचनमा छिरिन्। घर पुगेर ममीलाई के-के कुरा सोधुँला भनेको थियो। उडाइदियो सबैलाई, भुर्र। ऊ पनि किचन छिर्यो। किचनमा त चिकन पाक्या रैछ। मन रमायो। चङ्गा भयो। भुजा मिसायो। कपाकप खान लाग्यो। फ्रिज घ्वाँ गर्यो। लाइन आएछ। भाँडा त्यहीँ छोड्दे है। दौडिन् ममी त। टि.भी. कोठामा।

यत्तिकैमा सुरुची आई। स्कुलबाट।
सुरुची, सुरुची शर्मा
वर्ष : १३
कक्षा : ८
सुरुचीसँगै मिना पनि आएकी रैछ।
मिना, मिना बि.क.
कक्षा : ८
सुरुचीको साथी
"नमस्ते अन्टी" मिनाको आवाज।
हेरिरा'को सिरियल अन्त्य नहुँदै उठिन् मिनाको अन्टी, सुरुचीको ममी। गल्लीमा कुर्सी राख्दिदै भनिन् "ल बस्दै गर, म खाजा लिएर आउँछु।" खाजा आइपुग्यो। खाए। सुरुचीले मिनाको र आफ्नो प्लेट समात्दै भित्र गई। ममीले भैगो छोड्दे थाकेर आ'की होलिस् मै माझ्छु भन्दै एउटा छेउमा राख्नुभयो। सुरुची दङ्ग परी। स्कुलबाट आएपछि बिहानको रहलपहल भाँडा समेत मोल्ने सुरुचीले आज छुनै परेन।
"अन्टी आज सुरुची हाम्रोमा बस्छिन् नि है, भोलि वार्षिकोत्सवको लागि डान्स सिक्नु छ।" मिनाले नम्र हुँदै सोधी।
"तीन बास हुन्छ आज त, अंकल पनि नआउने रे" टारिन् अन्टीले।
"त्यसोभए बेलुकी मेरो बाबालाई पुर्‍याइदिन भन्छु नि त" जोड गरी मिनाले।
सौभाग्य टुलुटुलु हेरिरा'को थियो। अघि भर्खर सुरुची दिदी आउनुभन्दा अगाडि पापाले फोनमा - 'आउँदै छु। खाजा ठिक्क पार है' भन्नुभएको कुरा याद आयो। ऊ अचम्म पर्यो। लौ ममीले ढाँट्नुभयो। अब गाँड आउँछ - अब गाँड आउँछ, बोलिहाल्यो।
"चुप लाग्, जा पढ्न बस्।" हप्काइन् ममीले।
"ट्याब चलाउँछु है त" मलिनो आवाजमा सोध्यो।
"जा चला" धपाउने निहुँले भनिन्।
"ल त नि अन्टी म जान्छु। भोलि स्कुलमै सिक्नुपर्ला अलिअली।" अलिक अप्ठ्यारो मान्दै मिना निस्की।

अघि छेउमा राखेको प्लेट समातिन्। बाहिरको धारामा गइन्। पखालिन् अनि घाममा सुकाइन्। सुरुची अवाक् भई। सम्झी स्कुल। स्कुलमा छाती फुलाएर गाइने राष्ट्रिय गान 'सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली…।' मन भारी भयो। पढाइ भारी लाग्यो। जान्न स्कुल सिस्कुल। आयो एउटा तरङ्ग। यत्तिकैमा टक-टक-टक-टक जुत्ताको आवाज नजिकै आयो। पापा भन्दै सौभाग्य हामफाल्यो अनि पुन: ट्याबमै झुन्डियो। सुरुची छाँगाबाट खसी। जान्ने इच्छा भयो। सोधी ममीलाई सबै कुरा। ममीको मौनता। खाजा खान डाकिन् - यता आउनु त। सबै घटना पापालाई सुनाइ सुरुचीले। पापा पनि पन्छिँदै - "ट्याब खोइ सावित्री?" सौभाग्यले दौडिंदै ल्याइपुर्‍यायो। भन्यो - २ मिनेटमा Attack सकिन्छ अनि दिन्छु। Attack सकियो। फेसबुक सिकाउन थाल्यो पापालाई। अनुत्तरित सुरुची, सम्झिन्छे आवाज र चित्रको समायोजन नमिलेर चित्रमा रोएको सकिएर हाँसिरा बेला पृष्ठभूमिमा रोएको आवाज बल्ल बज्दै गरेको फिल्म हेर्दाको क्षण। सम्झिन्छे स्कुल। घर। सन्नटायुक्त किचन। भोलिको वार्षिकोत्सव। मिना। सुरुची। उनीहरूको नृत्य।


झोलाको चेन खोली। सामाजिक शिक्षाको किताबभित्र राखेकी कापी निकाली। अगाडिको चेनबाट डटपेन झिकी। विषयमा लेखिएको 'सामाजिक शिक्षा'को अगाडि 'अ' थपी, मन नलागी नलागी।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?