फेब्रुअरी : एक प्रेमकथा

कथा
फेब्रुअरी

"तिमी भै'देको भए मेरो जीवनमा..."
मेरो कुरा टुंगिन नपाउँदै ऊ कराउँछे - "धेरै नसोच के यस्ता कुरा, बिनासित्ती गलाउँछन्।"
भन्छु - "अँ खुबै, देखिछैनौ झन् सशक्त हुँदै छु त म.."
ऊ खिस्स हाँस्छे।
"पछि आउँछु ल.. पसलमा मान्छे आए" अनुमति माग्छे।
"राम्री राम्री मान्छे पसलमा बसेपछी मान्छे नआउने त कुरै भएन नि" थपिदिन्छु मैले पनि।
जिब्रो निकालेको अनुहारसँगै "त्यो चाहिँ अल्लि मिलेन होला कि" उसको तर्क।
"नेपालकै त नभनौं संसारकै राम्री हौ ल..!" उचालिदिन्छु अलिकति।
"अत्ति के अब चाहिँ..!"
"नपत्याए स्वयम्भु र पशुपतिकासँग दाँजेर..." लेख्दै थिएँ,
"राती आउँछु ल" पठाइसकिछे।
सबै मेटाएर हुन्छ को संकेत गर्दै ९:३० भनें। अफ गैसकिछे। Seen भएन। आउली नि राती। म पनि अफ गएँ।

खानपिन गरेर टि.भी. हेरिराथें। भाइ आयो, यो कसरी हो भन्दै। सिकाइदिएँ। होमवर्क सकियो भन्दै रमायो। कापी बन्द गर्यो। कापीको प्रिन्टमा त उनकै नाम रैछ। मुस्कुराएँ। भित्रभित्रै। उच्चारण गरें उनको नाम। एकपटक। भित्रभित्रै। मन रमायो। दङ्ग पर्यो। सोचें नाममै यति शक्ति छ, झनै मान्छे सधैं छेवैमा भइन् भने। नाचें एकफेर। भित्रभित्रै। बसेर-उठेर।

मोबाइल करायो। ९:३० भएछ क्यारे। हत्तपत्त मोबाइल हेरें। म्यासेज नै रैछ। मेसेन्जर खोलें।
"हाइ, हेल्लो नमस्ते..!"
म डराएँ। मेरै शैलीको म्यासेज थ्यो त्यो। सानोमा आफुले इच्छाइएको व्यक्तिबाट आएको। अझै स्पष्ट पारौं सानो बेलाको करस (Crush)। उत्तर दिने कि नदिने दोधारमा परें।
"सञ्चेै छौ?" फेरि अर्को आयो।
"चिनेनौ र..बिर्सियौ?" पुन: अर्को।
सायद अन्य समयमा भएको भए डराउदिनथें पनि। फेब्रुअरी महिनाले डराउने बनायो। साँच्चै।
"अँ बिर्सिएँ। आफ्नो परिचय देउ त" लेखें। पठाऊँ कि नपठाऊँ मगजलाई दुविधा भयो। हात चलायमान भएछन्। मेटिए सबै। ह्या गर्दिनँ। उसले चाहिँ भाउ खान हुने मैले चाहिँ नहुने र? चुपचाप बसें। आफ्नो इच्छामन्दिरमा सजाउँदा 'पढ्ने बेला' भन्दै तर्किएकी थिई। लगत्तै केही समय पश्चात् अनेकन नामहरूसँग जोडिँदा सोचेकी थिई होली र मेरो बारे? भाउन्न छुट्यो। बन्द गरें मेसेन्जर।
"धत्..! जाबो त्यस्तो कुरामा पनि ईख मानेर हुन्छ? साथी त हो नि तेरो पनि.." मनले भन्यो या मगजले ठम्याउनै सकिनँ। अघि लेखेर मेटेको म्यासेज फेरि लेखें - "अँ बिर्सिएँ। आफ्नो परिचय देउ त"
"नाम तो सुनाइ होगा" उसले लेखी।
"तिमी इन्डियन हो?" मेरो प्रश्न।
"हैन, नेपाली" फर्काइहाली तुरुन्तै।
"त्यसोभए नेपाली मै भन त अघि के भनेकी.."
"नाम त सुनेका होलाऊ नि.. :) :) " आइहाल्यो।
"धेरै पछि सुनियो.." जिस्किएँ अलिकति।
"सञ्चेै छौ?" दोहोर्याएर सोधी।
"अँ, तिमी नि?" मेरो प्रश्न सहितको उत्तर।
"अलि अलि रुघाखोकी, बरु भन त डाक्टर सा'प कुन औषधि खाऊँ" उसको व्यङ्ग्य।
"औषधि खानुपर्दैन, Immunity बढ्छ.. आफ्नो केयर गर न ठीक भैहाल्छ।"
"केयर गरिदिने मान्छे पनि त हुनुपर्यो" उसको vacancy announcement सायद।
म रनभुल्ल परें। साँच्चै फेब्रुअरी, डरलाग्दो। अजङ्गको।
"यत्री बुढी भैसक्यौ। आफ्नो केयर गर्न पनि मान्छे खटाउनुपर्छ र?"
चेसमा राजामात्र बाँकी रहँदा १६ सुरक्षित चाल चाल्न बुद्धि प्रयोग गरेजस्तै भयो।
"त्यही बुढी भैसकियो र त मान्छे चाहियो भन्या नि.. " आँखा झिम्काकोसँगै पठाई।
उसको आक्रामक शैलीको अगाडि १६ चाल सुरक्षित चाल्न सकिएला जस्तो लागेन।
"विदेशबाट अंकलको फोन आयो, भोलि कुरा गरौंला है.." ढाँटे।
Seen मात्र भयो। रिप्लाई केही गरिने।
"उसको इच्छामन्दिरमा धक्का लाग्यो कि?" खोइ कुन कुनो करायो।
"जेसुकै होस् तँलाई बाल.." मन जंगियो।

बडेमानको पानको पातसँगै "ह्याप्पी फेब्रुअरी", वर्तमान इच्छामन्दिरमा प्रभुत्व जमाएकी आइपुगी टुप्लुक्क।
"फेब्रुअरी सुरु भयो र?" बुझपचाएँ।
"लौ आज १ सकिन लागिसक्यो" उसको उत्तर।
मौनता एकैछिन..
"कुन दुनियाँमा छौ र तिमी?" फेरि उसैको प्रश्न।
"तिम्रै दुनियाँमा छु नि छ न त, तिमी पो..." मोडें अलिकति।
"फेरि सुरु भयौ है" उसको रिप्लाई।
"कहिले बन्द भा'थें र" सन्किदिएँ थोरै।
फेरि मौनता..
"जनवरीमा टाढिएकालाई फेब्रुअरी, कसरी पच्छ त?" जनवरीको ब्रेकअप बोध गराएँ।
"को टाढियो र?" पठाई तुरुन्तै।
माया दर्शाएकी हो या पराई नबनाएकी, अलमल्ल परें। बिर्सिछे क्यारे ब्रेकअपको त्यो क्षण। पुन: पढें एकपटक "को टाढियो र?" अर्थाउन खोजें, सकिन। "बुझिन" लेखें। मेटाएँ। कतै सपना त थिएन मेरो? सम्झन प्रयास गरें। २४ जनवरी। दिमागको कुना-कुना छापा मारें। ब्रेकअपको 'ब' त मरेछ। सुकेर। 'म' भेट्टियो, सर्वत्र। ऊ पनि भेट्टिई। मायाको 'म'लाई मलजल गर्दै थिई। रोकिएँ, टक्क। टाढैबाट आँखा जुधे। तिमी किन यहाँ आ'को - कराई टाढाबाटै। नबुझेझैं गरेर नजिकै गएँ। फेरि दोहोर्याई - किन आ'को? ब्रेकअपको 'ब'लाई देखाउँदै भनें - खोज्दै आ'को, मरिसकेछ। मलजल गर्ने कोही भएन; तिमी पनि कता गयौ; मलाई मनै लागेन - माया मिसिएको उसको बोली। जुधिरहेका आँखा हटाई। 'म' तिरै मोडिई। मायाको 'म'। जगले पानी हाल्न थाली। औंलाको औँठी टल्कियो। आँखैमा। झल्याँस्स ब्युझिएँ जस्तो भयो। बल्लतल्ल सम्झें 'अ' कुँदिएको थियो क्यारे त्यसमा।

कहाँ पो पुगेछु म त। कसरी त्यहाँ पुगें। कस्तो अलौकिक ठाउँ। फेरि जान पाए। सोच्दै थिएँ यस्तै यस्तै। हातको मोबाइल सम्झें। मेसेन्जरको उनी।
4 minutes ago. गैसकिछे। म्यासेज छाडेकी रैछे - "कतिपय कुराहरू, सम्झनाका तखतामै बढी शोभा दिन्छन्। हो त्यस्तै भएको छ हाम्रो सम्बन्ध। तिमी बाहुन म नेवार, न परिवार मार्न सक्छु न तिमी। त्यसैले त तखता बना'की छु, सजाएकी छु। तिमीले भन्ने गरेको वर्तमानमा जिइरा'कै त छु। साँच्चै, खुशी छु। अझै खुशी बनाउने मन छ भने आऊ, बाजा बजाएर लगेर जाऊ, सक्छौ?? शब्दहरूको महल बनाउन त जानेका छौ, म अटाउने महल बनाएर त डाक, महल सजाउन आइपुग्नेछु। शुभ रात्री।"

Comments

Popular posts from this blog

तछाडमछाड..!!

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?

मुक्तक भलाकुसारी