भाग्य

लेख
भाग्य

अचम्मको छ यो निधार पनि। लेखिदिने झनै अचम्मका।कहिलेकाहीँ सोच्छु, कुन चैं मसी प्रयोग भएको कुन चैं कलमले लेख्दा हुन् त्यस्तो, कहिल्यै नमेटिने गरी। फेरि अर्को खेप सोच्छु, लेखिदिने मान्छे बाटामा भेट्टिए पनि हुन्थ्यो नि! "माथिबाटै लेखेर आएको हुन्छ", सानोमा खै के कुरामा आमाले भन्नुभएको थियो। माथिका मान्छेलाई तलको म हिँड्ने बाटोमा कसरी पो भेट्टाउँला र! मन खिन्न हुन्छ। स्कुलमा विज्ञान विषयमा पढेको गुरुत्वाकर्षणले बरु त्यो कलमलाई मात्र भएपनि तल तानिदिए कत्ति खुशी हुन्थें होला।
साँच्चै त्यो कलम भेट्टाएँ भने?
जे परे पर्ला, सुरुमा त उनकै नाम लेखिन्थ्यो। ठूलो अक्षरले। कहिल्यै नमेटिने गरी। आकाङ्क्षा।

अनि त्यसपछि..?
त्यसपछि नाचिन्थ्यो मज्जाले। दौडेर आमालाई देखाइन्थ्यो अनि भनिन्थ्यो - "यी मेरो भाग्यमा आकाङ्क्षा लेखेको छ।"

भाग्य, साँच्चै यसले पिठ्युँमा बोकेको अस्तित्व बिसाउँछ चैं कहाँ? परार साल अमरका बा'लाई सर्पले टोक्यो। अमर त आमाको पेटमै थियो। समयमै एन्टी भेनम नपाउँदा ज्यान गयो। कस्तो भाग्य लेखेर ल्याएको रै'छ, छोरोको अनुहार देख्नै नपाइ गयो। गाउँभरिको चियागफ।

इन्जिनियरिङ्ग प्रवेश परीक्षा दिएर भर्खरै बाहिर निस्केको सौभाग्यको;
नाम निस्कियो - मिहिनेतको फल मीठो भन्दै खुशीसाथ स्टाटस राख्यो।
नाम निस्किएन - साला भाग्यमै छैन। सराप्यो भाग्यलाई।

कतै यात्रामा निस्कँदा जाम पर्यो। गाडी बिग्रेर एक घण्टा कुर्नुपर्यो। कस्तो अशुभ बार, अशुभ दिनमा साइत गरिएछ। "एक घण्टा अगाडि हाम्रो गाडीलाई उछिनेको गाडी सहित चारवटा अरु गाडीहरू पहिरोले थिचिएछन्", गाडी हिँडाउनै लाग्दा चालकले सुनाउँछन्। धन्न गाडी बिग्रेर बचिएछ। भाग्य बलियो रै'छ। जय जयकार भयो भाग्यको।

कस्तो आश्चर्य! घरी टुलुटुलु हेरेर बस्छ, घरी बेस्सरी समाउँछ रे; भाग्यले। घरी धानको भकारीमा सुन, सुनको भकारीमा हीरा थपिदिन्छ। घरी हीराको भकारीमा कीरा लगाइदिन्छ। बचेरालाई माउबाट छुट्टाउने पनि उही भइदिन्छ। माउलाई बचेराबाट खोसिदिने पनि उही भइदिन्छ। हर्षका छिटाहरू बादल च्यातेर वर्षाइदिने पनि उसैले रे। मनका भित्ताहरूमा गोलीका छर्रा रोपेर कृष्णले मख्खनको घैंटो फोरेझैं आँखाका घडाहरू फोरिदिने पनि उसैले रे। कसैलाई फलिफाप अनि कसैलाई अभिशाप हुने गरी लेखिदिन्छ चैं किन? न हामी उसको बाउपट्टिको न आमापट्टिको। "साँच्चै भाग्य हुन्छ त?" मथिङ्गलमा झनै ठूलो प्रश्न तेर्सिन्छ। सबै सजीव या निर्जीव आ-आफ्नै समयचक्रमा घुमिरहँदा मिलन हुने विन्दुलाई संयोग भन्न छाडेर भाग्यको नामाकरण भएको पो हो कि? या सान्त्वनालाई सहजीकरण गर्ने उद्देश्यले जन्माइएको हो? हारको स्वीकारोक्ति मुस्किल भएर भनौं या कारणलाई आफ्नै जुत्ताले कुल्चिएर गतिलो बहानाको अस्त्र बनाइएको मात्रै पो हो कि? खैर, अन्तिम फैसला गर्ने जिम्मा हजुरकै मथिङ्गललाई।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?

मुक्तक भलाकुसारी