सन्तुष्टि अनि स्वीकार्यता

लेख
सन्तुष्टि अनि स्वीकार्यता


यो त मान्छेको प्रकृति नै हो, आफ्नो वर्तमान अवस्थालाई भन्दा पनि आफ्ना वरपरका मनुवाहरूको अवस्था बढी मन पराउनु अनि बढी रुचाउनु। हुन त प्रकृतिले सिकाएकी पनि यस्तै न हो हामीलाई। बगिरहेकी नारायणीलाई उनको किनारैमा गएर सोधेको थिएँ एकपटक। गुनासो मिसिएको बोलीमा भनेकी थिइन् - "बरु रारा, फेवा जस्तै ताल भै'देको भए कत्ति खुशी हुने थिएँ। स्थिरताको गन्तव्य खोज्न अनेकौं घुम्तीहरूमा अस्थिरताको यात्रा गरिरहनु पर्ने त थिएन।" अनि गति नबोकेकी रारालाई उही प्रश्न तेर्साएँ। राराको पनि ओठमा, अहँ कुनै सन्तुष्टिको धर्का भने देखिनँ। भन्दै थिइन् - "बरु नारायणी, कर्णाली जस्तै गतिशील बन्न पाएको भए, संसार कस्तो छ देख्ने त थिएँ। जतिबेलै एकै ठाउँमा गजक्क परेर बसिरहनु पर्ने त थिएन।"


हरेक सजीव र निर्जीवका कुरा अनि तर्क आ-आफ्नै छन्। बेग्लाबेग्लै छन्। आफ्नै जीवनकाललाई हेर्ने हो भने - सानोमा ठूलाको गफ सुन्न नपाउँदा छिट्टै ठूलो हुने रहर, अहिले फेरि उही बालापनमा फर्किने मोह। माछालाई चराको जिन्दगी आहा लाग्ने, चरालाई माछाको। घामको बेथा उस्तै अनि जूनको पनि। सन्तुष्टिको दौडमा सन्तोष आफैं सन्तोष छैन। खुशी आँफै खुशी छैनिन्। समस्याको पहाड फोर्न निस्केकाहरू आफ्नो पहाडको उचाइ ननापी अर्काको पहाड होचो भन्दै मुर्मुरिन्छन्, बेस्सरी। पहाड फोर्न बोकेको घन छाडिदिन्छन्। मन छाडिदिन्छन्। कर्म छाडिदिन्छन्। धर्म छाडिदिन्छन्। अनि उही निधारमा मुजा, अपुगको धर्को, सुइ..य सुस्केरामा जाबो एक फोक्सो पनि श्वास नफाली भनिदिन्छन् - खोटो भाग्य। 


एउटा गुरूले आफ्नो चेलालाई भन्नुहुन्छ - खेल्नु पनि पर्छ, पढ्नु पनि; खेलले फुर्तिलो राख्दछ, पढाइले दिग्गज। हामी चेला भनाउँदा फुर्तिलो बन्ने निहुँमा गुरूको अर्तीको बहाना बनाएर खेलिमात्रै रहन्छौँ, मज्जैले; किनकी हामीलाई पढ्न मन पर्दैन। हामी मनुवाहरू प्रकृतिलाई गुरू ठान्दछौँ। प्रकृतिले सिकाएकी असन्तोषी भावलाई शिरोपर त गर्दछौँ, जानेर या नजानेरै। खैर, प्रकृतिले सिकाएकी स्वीकार्यता भने मिल्काइदिन्छौँ; किनकी हामीलाई स्वीकार्यता मन पर्दैन। स्वीकार्यताभित्र लुकेको सन्तोष मन पर्दैन। अनि.. अनि सन्तोषभित्र लुकेकी खुशी मन पर्दिनन्। मन परोस् पनि कसरी - आफ्नो सुख र अर्काको दु:ख नदेख्न त हामी अभ्यस्त भैसक्यौँ। खुशी त एउटा बहाना मात्र हो। सन्तोष, अर्को बहाना। खै, कसले पो सुल्झाइदेला - आखिर, जिन्दगी नै मुख्य बहाना हो।

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?