मायावी लेख (प्रस्तावना)
Will you marry me??
...अनि हजारौंको जमातसँग ठोक्किएर जिन्दगी अघि बढिरहेको बेला तिमीसँगको ठोक्काई पनि त उस्तै लाग्नुपर्ने मलाई; तर अहँ लागेन। किनकी, तिमी भिन्न थियौ। हजारौंमा एक थियौ।
आँखाभित्र पस्ने हजारौं बिम्बहरूलाई दिमागले ठाउँ नदिएर द्वन्द्वमा होमिरहेका बेला, तिमी पनि त त्यही द्वन्द्वकी एउटी पात्र लाग्नुपर्ने मलाई; तर अहँ लागिनौ। किनकी, तिमी पृथक थियौ। हजारौंमा एक थियौ।
अलिअलि बुझ्ने भएदेखि म मेरा हजार सपनाहरूमा सफर गरिरहँदा, भिन्न भिन्न पहिचान बोकेका भिन्न भिन्न मान्छेहरू जस्तै त लाग्नुपर्ने मलाई; तर अहँ लागिनौ। किनकी, तिमी भिन्न थियौ। हजारौंमा एक थियौ।
धेरै धेरै माया अनि मुटुभरिको सम्झना,
मेरा नयनभित्र पस्ने निस्कने हजारौं आकृतिहरूको भीडमा ठम्म उभिएर दिमागलाई पत्तो नदिई मनमुटुमा बास बस्न सफल मेरी प्यारी प्रियतमा,
सर्वप्रथम त म आभारी छु,
झर्को नमानी, नबिझाई, मेरा यी आँखाभित्र आफुलाई अटाएर संसार नियालीरहेकी मेरी प्यारी।
मेरा रक्तनलीमा सिंचित रक्तकोषिकाहरूलाई मायाले fortification गरेर नाचिरहेकी मेरी प्यारी।
मेरो संसार भनेकै तिम्रो हो अनि तिम्रो भनेकै मेरो हो भन्दै आफ्नो मन-मुटुमा सजाएर बाँचिरहेकी मेरी प्यारी।
सानो सानो कुरामा लुकेका ठुलाठुला खुशीहरू औंलाएर हाँसिरहेकी मेरी प्यारी।
वसन्त हुँदै शिशिर हुँदै, पूनः वसन्त अनि शिशिर अनि फेरि वसन्त, यस्तै यस्तै श्रृङ्खलामा इच्छा, आकांक्षा र सपनाहरू चुचुरो उक्लिँदै गए। तिमीले भनेकी थियौ नि - तिमी एउटा ईट्टा राख्नु, म अर्को थपूँला। यसो फर्केर हेर्छु, दुईजना मिलेर टन्नै ईट्टा पो जोडिएछ क्यारे। हेर न, हरेक ईट्टा कत्ति अमिल्दा छन्। हरेकले आफ्नो छुट्टै अस्तित्व जनाएरै तिम्रो र मेरो सह-अस्तित्वलाई सार्थक झल्काएका। अविरल बगिरहेकी समयको बहावसगैँ हामी पनि बहकिएछौं है, समयजस्तै अविच्छिन्न भएर। ...अझै बहनु छ अनन्तसम्मै।
जीवनका गोरेटाहरूमा अनि घुम्टीहरूमा तिमीसँगै यात्रा गर्दा, अहँ कहिल्यै पनि अनिश्चितताको घेराले छोपेन मलाई। न त गन्तव्यसम्म नपुगुँला भन्ने डरको बादलले नै घेर्यो। मलाई त तिम्रा आँखाले बोलेका शब्दहरूले घेरिरहे। मुटुले चोरेका नजरले घेरिरहे। तिमीसँगको दूरीमा बढेको सामीप्यताले घेरिरह्यो। तिमीले फेरेर गएकी सासले घेरिरह्यो। तिमीले गर्दिन भन्दाभन्दै गरेकी अथाह मायाले घेरिरह्यो। घेरिनु मेरो चाह होइन। मलाई त बेरिन मनपर्छ। जीवनभर थाँक्रोमा बेर्ना बेरिएजस्तै तिम्रो जीवनमा बेरिन पाए!
तिम्रो अगाडि घुँडा मारेर खल्तीबाट निकालेको सानो रातो डिब्बाभित्रको औंठी तेर्साएर सुस्तरी "Will you marry me??" भन्ने इच्छा नभएको कहाँ हो र? तिमीले भन्ने गरेको 'अझै अर्को तीन वर्ष'ले तीन फेर सोच्न बाध्य गरायो। एकपटक गुमाइसकेर भेट्टिएकी तिमीलाई पून: गुमाएँ भने? तिमीबिना मरिहाल्छु त म भन्न सक्दिनँ, तिमी भयौ भने ज्यादै सहज अनि सार्थक जीवन भने जिउनेछौं। तिमीलाई सुख नै सुखले पुरौंला पनि त म भन्न सक्दिनँ, तिमीले सामना गर्ने हरेक दु:खमा तिम्रो हातलाई मुठ्ठीभित्र कसेर हामी बलिया छौं, हामी सक्षम छौं भन्ने कुराको आभास भने दिलाउनेछु।
हामी एकअर्काका परिपुरक हौं भन्ने कुरा त हरेक पल आउने तिम्रा यादहरूले सम्झाइरहेका हुन्छन्। बुझाइरहेका हुन्छन्। खुशी एउटा रोजाइ मात्र हो। ६० पुग्दा ६० फेर पछुताउनुभन्दा, ५३ सालकी तिमी ५३ वर्ष पुग्दा तिम्री छोरीले एकाबिहानै उठेर "Happy 25th Anniversary Daddy" भन्दै मज्जाले अँगालो मारोस् मलाई। अनि मैले 'अनु' भन्दै तिमीलाई अँगालोमा लिएर तिम्रो निधार चुम्न सकूँ।
"अ.."
"अन.."
"अनन्या.."
"Will you marry me?"
👍
ReplyDelete😊😊
Deleteकति मन छोयो बन्धु। धेरै राम्रो
ReplyDeleteधेरै धेरै धन्यवाद बन्धु।। 😊😊
Delete