ल टूँ पारौं!

कविता
ल टूँ पारौं!

कहिले
सपनाको डर लाग्छ,
कहिले बिपनाको
करै करमा जन्मिएका रहरहरूले
कुन प्रहरमा हो, शहर घचेट्छन्।

खोइ
खोइ को आइपुगेछ,
मेरो अगाडि?
असली रहर हस्याङ्गफस्याङ्ग गर्दै आइपुग्छ -
ए, हजूर पो!
ढोग भेटमै गेटबाट गलत्ताइन्छ।

आफ्नो
घर भासिएको पीरमा
डाङ्ग्रेको घर मास्दै
हरिया बाँस ठिक्क पारेर
मलाई कोट्याउँछ -
ल टूँ पारौं दाइ।

झसङ्ग
झस्किएरै बरबराउँछु -
म शून्यतामा संसार भर्ने मान्छे,
काठकै भरमा जंघार तर्ने मान्छे,
म झिल्का हूँ।


झिल्का हूँ,
वन डढाउन सक्छु मन डढाउँदिन।
कोरेर फाल्देऊ न!
अँधेरो मनलाई मैनबत्ती बनिन भने,
कालो धनलाई डढेलो बनिन भने!

ठूलो
प्रश्नवाचक चिन्हको
अंकुशीमा
जीवनको सार्थकता झुण्डिरहेको बेला,
जगतको हार्दिकता झुण्डिरहेको बेला!
मांसपेशी र हड्डीले त जनावर उभिन्छ।
म उभिँदा मेरो इमान सकिएको बेला,
म मलामी जानेछु!


मलामी जानेछु,
तुर्लुङ तुर्लुङ झुण्डिएर तुहिएका सपनाहरूको।
म अवसान लिनेछु!
जाबो फोक्सोले धानेका मेरा बिपनाहरूको।

..अनि
त्यो तिम्रो कोट्याईमा
पूर्णविराम लगाउँला,
भनूँला -
ल टूँ पारौं भाइ।
ल टूँ पारौं।


No comments:

Post a Comment