बडेमानको प्रश्न?

लेख 
बडेमानको प्रश्न?

आज नयाँ वर्ष, बिहान सबेरै उठी नारायणी स्नान गर्न भनेर हर्केकी आमा निस्किन्छिन्। नारायणी नदी किनार श्रद्धालु भक्तजनहरूले भरिभराउ हुन्छ। अलिकता ठाउँ देख्छिन् अनि सूर्य देवता भन्दै जल चढाउँछिन्। रक्षा गर हरि भन्दै छेउमा जल लैजाने भनेर राखेको डिब्बा खोज्छिन्। भेट्दिनिन्। "मुर्दार कुन चैं ले टप्काएछ, त्यसका हात त ठुनुक्कै हउन्" सराप्दै छेवैको मजेत्रो समाएर निस्कन लाग्दा डिब्बा देख्छिन्। धन्य प्रभु भन्दै जल भर्छिन्। गाडीमा आउँदै गर्दा कसैले छोइदिन्छन् कि भनेझैं अलग्गै बस्छिन्। ओर्लँदा एउटी अधबैंसे महिलासँग ठोक्किन पुग्छिन्। फेरि के-के भनेर सराप्छिन्। सह-चालकलाई पैसा अलग्गै दिएर घर पुग्छिन्, ठुलै धर्म-कर्म गरेजस्तो गरेर। 

"धारणात् धर्म ईत्याहु: धर्मो धारयते प्रजा:" 
धर्म भनेको धारणा गर्ने कुरो हो। किसानको धर्म के हो? चिकित्सकको धर्म? गुरूको धर्म? सिपाहीको धर्म? बाबाको धर्म? आमाको धर्म? सन्तानको धर्म? धर्तीको धर्म? आकाशको धर्म? प्रकृतिको धर्म? धर्ती, आकाश, प्रकृतिले आफ्नो धर्म निभाएजस्तै सबैले यथास्थानबाट आ-आफ्नो धर्म निर्वाह गरे बल्ल प्रजाको खुशी मिल्दछ। सभ्य समुन्नत समाजको कल्पना गर्न सकिन्छ। 

मेरो प्रश्न धर्मलाई भने फिटिक्कै होइन। म धर्मलाई प्रश्न गर्न सक्दिनँ। म कुनै ज्ञाता होइन र दक्षता पनि छैन। बस्, त्यो ढुङ्गामुनि छ कि? ए, छैन रहेछ! त्यो परको ढुङ्गामुनि त पक्कै होला भन्दै पल्टाउन लालायित मनुष्य भने हुँ। खैर, ढुङ्गामुनि उही हिलो माटो र बालुवा मात्रै। न पोलेर ईंट बनाउन मिल्ने न चालेर सुन निकाल्न नै! 


समय परिवर्तनशील छ। भ्रममा त हामी छौं। हिजो जति बजेको थियो यसबेला, आज पनि त्यति नै बजेको छ भन्दै घडी मुसार्छौं। समाज पनि परिवर्तनशील छ; नजानिँदो ढंगले। समाज के हो? परिवर्तन के हो? यहाँ हरेक खुट्किलामा प्रश्न उठ्छन्। प्रश्नलाई प्रश्न तेर्साइन्छ अनि जीतेको आभास गर्दा हुन्। राम्रो प्रश्न आधाउधी उत्तर नै हो भनेर कमै बुझ्दछन्। यही नै कारक तत्व हो, आदिमकालमा सुरु भएको सभ्यता शङ्खेकीराको गतिमा लम्कनु। आत्मसमीक्षाले त हाम्रो मान, मर्यादा घट्छ। पूर्खाको त्याग, तपस्या र बलिदानको अनादर हुन्छ। अनि हामी मख्ख पर्छौं। गर्वको विषय बनाउछौं - उबेला वायुपङ्खी यान थियो; हवाइजहाज, हेलिकप्टर, रकेट पछि आएका हुन्। एउटा लोकबाट अर्को लोकमा मन्त्रको भरमा समाचार पुग्दथे; मोबाइल, इन्टरनेट पछि आएका हुन्। हात्तीको टाउको त उबेला गाँसेका हुन्; शल्यचिकित्सा, अझै प्रत्यारोपण पछि आएको हो। भित्तामा सुसुत्राको ५*४ को फोटो झुन्डाइरहँदा उही संहिताबाट मन्थन गरिएको नयाँ आयाम भित्रिसक्दा हामी ट्वाल्ल छौं। वेदको विज्ञान, चाणक्यको नीति, आर्यभट्टको गणितले विश्व विकासे रेल चढेर मंगलमा पानी खोजिसक्यो, हामी यहाँ हाम्रै अस्तित्व खोज्दैछौं। 
किनभने, हाम्रो बहसको विषय नै बेग्लै छ नि!

》महिनावारी हुँदा बसेको गोठबाट लक्ष्मी आज बाहिर निस्केर धारा छोई अरे। दिनभर गाउँमा कचहरी बस्यो। छिमेकी काकाकोमा नयाँ धारा हालिदिने फैसलासँगै गोठमा चाबी सहितको ढोका हालियो। 
》बुहारीलाई सर्पले टोकेपछि जेठाजुले मोटरसाइकलमा अस्पताल पुर्‍याए। गाउँभरि गतिछाडाको लाञ्छना लगाइयो। समाजमा बस्नै नसक्ने भएपछि अन्यत्रै बसाईं सरे।
》मुर्तिकारले कुँदेको ढुङ्गा चार भित्ताभित्र अविर दलेर पूजियो। त्यही मुर्तिकारलाई मन्दिर बाहिरको घण्टी बजाएकै निहुँमा मन्दिर व्यवस्थापन समितिले मन्दिर प्रवेश निषेधाज्ञा जारी गर्‍यो।

अहिलेको कोरोना विषय पनि त्यस्तै गर्विलो बन्यो। हाम्रो नमस्कार संस्कृति, बाहिरबाट आउँदा हातखुट्टा धोएर भित्र पस्ने संस्कार। हो, यी अनुकरणीय छन्। पालना भइरहेका छन्। अनि यसैमा मिसाइन्छ 'अछुत'वाला चालचलन। यसलाई पनि वैज्ञानिक कारण दिएजस्तै गरेर गर्विलो बनाइदै छ। पूर्वीय दर्शनमा बिहान स्नान गरेको व्यक्ति अर्को व्यक्ति स्नान नगरुञ्जेल नछोइने भनेर भनिएको कुरालाई यहाँ त समुदाय विशेषलाई होच्याउने, अर्कोलाई तल पारेर आफू माथि उठेजस्तो गर्ने गरेर सम्प्रेषण गरिएको छ। एउटा भूमिका जोडौं न - म ११ कक्षा पढ्दाताका २ जना साथी मेरो घर आए। चिया खाजा खायौं। उनीहरू गए। परन्तु मेरो घरमा उनीहरूमध्ये एउटाको गिलास, प्लेट घाममा सुक्यो। अर्कोको सिधै भान्सामा प्रवेश पायो। यो के थियो? कारण दिनेहरूले कीटाणु मार्न घाममा सुकाउनु राम्रो हो भन्लान्। उसोभए अरूको पनि घाममा सुकाउनु पर्‍यो नि त! कि अरूको लागि भान्सामै घाम छिर्छन्? अझै तेरा साथेहरूलाई बाहिरै भेट भन्नेसमेत सुन्ने अवसर जुर्यो। सायद, मेरै कान दोषी होलान्। मेरै आँखा दोषी होलान्। 

"जन्मनात् जायते शूद्र 
कर्मणात् द्विज उच्यते" 
हरेक मानिस जन्मसिद्ध शूद्र हुन्छ। कर्मद्वारा नै उसले अगाडिको बाटो समात्ने हो। यो कुरा शास्त्रमा उल्लेख छ तर कोही कसैले यस्तो हुन्छ भनेर भनेको पाइँदैन। आफ्नो कामले नै आफ्नो पहिचान बनाउने हो। जन्मसिद्ध छाप लगाएर आउने भए - चिकित्सकको छोरोलाई चिकित्सक भनेर जाँच्न किन नलगाउने? शिक्षकको छोरीलाई शिक्षिका भनेर पढाउन किन नलगाउने? पाइलटको छोरीलाई प्लेन उडाउन किन नदिने? 

आफूलाई मन नपरेको विषयलाई अन्धविश्वासको रङ दलेर पन्छाउन खोजेको होइन। यथार्थ बुझौं भन्दा धर्मको लेप लगाएर वादविवाद गर्नुहुन्न भन्ने मनस्थिति सिर्जना गराइन्छ। "दिनहुँ भौतिक शरीर त स्नान गराइन्छ तर हाम्रो विचार, हाम्रो सोच, अनि हाम्रो मानसिकता कहिल्यै स्नान गराउने चेष्टा नगर्ने?" भनेर सोध्न मन कहाँ नहुँदो हो र! तर कुनै उत्तरको खोजीमा यहाँसम्म कलम दौडेका होइनन्। सायद भोक नहुँदो हो। यी त उत्पीडन हुन्। जञ्जिरले बाँधिएका स्वतन्त्रता हुन्। हावाको झोंकले ल्याएका तरङ्ग हुन्। आमूल परिवर्तनको लागि छट्पटाइरहेको समाजमा अझै कति असान्दर्भिक कुराहरूको पछि लागेर व्यक्ति, परिवार, समाज अनि राष्ट्रले विकाशोन्मुख वर्ष गुमाउनु पर्ने हो भन्ने दुखेसो मात्रै हो। बाँकी हजुरकै मर्जी।

Comments

  1. Sarai ananda aayo yo lekhe padda. Sabaile aafno aafno thau bata prayash garda ramro fal milne cha rastra lai.

    ReplyDelete
  2. Yetharta barnan garna kun kod kasari samatnu parcha tyo pratibha ko bakhubi prasardan gareko cha yo lekh le

    ReplyDelete
  3. धर्म, समाज, संस्कृति र समय! यिनैको धरातलमा जीवन उभिन्छ, उभिन सकोस् अटल।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?