सधैंभरिलाई..!!

लेख
सधैंभरिलाई..!!

अलिकता डर, अलिकता त्रास, अलिकता बच्चा दिमागमा पाएको तिम्रो समीपता, तिम्रो साथ, तिमीसँग बिताएका पल दिमागबाट मनमा खिचेर ठूलो फ्रेममा सजाएर राखेकी छु। मन सानो होला फ्रेम ठूलो छ। दिमाग अबुझ होला माया बुझ्झकी छ। विश्व ब्रह्माण्डको लागि तिमी सानो अणु जत्रै होलाऊ; मेरो लागि त्यही अणुभित्र विश्व ब्रह्माण्ड छ।
 
न सुरु न अन्त (त्य) भैदिए,
जिन्दगी बढो सन्त भैदिए,
प्रार्थना गर्दछु, तिमीसँगको..
समीपता झन् अनन्त भैदिए।

बादल थियो। बादललाई ठोक्किने पहाड थिएन। पहाड थियो। अग्लाइमा मुस्कुराइदिने आकाश थिएन। आकाश थियो। आकाशलाई हेरिदिने धर्ती थिएन। धर्ती थियो। धर्तीलाई बर्सिदिने वर्षा थिएन। वर्षा थियो। ओत लाग्ने छानो थिएन। छानो थियो। छानोभित्र घर थिएन। घर थियो। भर थिएन। अनि त तिमीसँगको ठोक्काइले ऐया भएन। छानोभित्र घर आयो। घरभित्र भर आयो। भरभित्रको मनमा तिमी अटायौ। तिमीभित्र सारा सपना अटायो। सारा संसार अटायो। अनि त्यही संसारभित्र म नाचिरहेकी छु। बाँचिरहेकी छु। 

सोचेजस्तै रानी पाएर,
आँखाको नानी पाएर,
हेर त कत्ति खुशी छु म..
मेरी प्यारी सानी पाएर।

दुःख अनि सुख, सुख अनि दुःख सबैको साक्षी समय बसेको छ। अनि त्यो समयको साक्षी चैं तिमी बसेकी छौ। समयसँग त्यति गुनासो छैन। गुनासो त तिमीसँग पो के हुन्थ्यो र! बरु भाग्यमानी छु। तिम्रो साथमा हुर्किन, बढ्न पाएकी छु। कामना छ थुप्रै। सबै कामना पूरा हुँदै जाऊन्। बस्, "मेरो समयको साक्षी तिमी नै हुनुपर्छ ल। सधैंभरिलाई..!!"

Comments

Popular posts from this blog

तछाडमछाड..!!

मुक्तक भलाकुसारी

ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?