कविता तछाडमछाड..!! यहाँ तछाडमछाड छ, राम्रो देखिने होडबाजीमा राम्रो बन्न होइन। असल देखिने होडबाजीमा असल बन्न होइन। धनीलाई कसरी धनी देखिनु भन्ने छैन। हात मुख जोर्न धौ धौ हुनेलाई भने तछाडमछाड छ, धनी देखिने होडबाजीमा धनी बन्न होइन। मनको दरिद्री जाे छन्, हो उनैलाई तछाडमछाड छ, मनकारी देखिने होडबाजीमा मनकारी बन्न होइन।
लेख ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा? जीवन के हो। जीवनको अर्थ के हो। बस् खानु र लाउनु मात्रै जीवन हो या अलिक बढी नै छ त्यो भन्दा? "जैविक विकासक्रम"का कठपुतली हौं भन्ने कटुसत्य थाहा हुँदाहुँदै किन यति बिघ्न दौडिन्छ एउटा मान्छे। खै कुन जीनिस्ले दौडाउँछ उसलाई। आफ्नो राम्रो बेचेर अघि दौडिन्छु भन्ने प्रायः कमै भेटिन्छन्। यहाँ त दुकान खोलिन्छ अर्काको नराम्रो बेच्नलाई। अझै थप्दाहुन्, "यहाँ सस्तो सस्तोमा, होलसेल मूल्यमा...." एउटा जीवनको मूल्य हुन्छ र! यात्रामा निस्कन्छ ऊ। नियतिको यात्रामा। जन्मेर च्याँ गर्ने बित्तिकै उसको घडी दौडिन्छ। ऊ दौडियोस् या घस्रियोस्। आफ्ना कमजोरीमा जोरी खोज्ने प्रशस्तै भेटिन्छन्। यत्ति त बुझ्दो हो त्यो यात्रीले। अनि उही, किन छताछुल्ल पारिदिन्छ आफ्ना कमजोरीहरू? सायद नजिकैको सोच्दो हो। मन नजिकैको। उसको नजिक को हुन्छ? अनि उसको टाढा? अँ साँच्ची, ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा? [बिहानीको एक पलेँटीमा यति लेखियो। उत्तर छ भने दिनुस्। "ऊ कहाँ हुन्छ आफ्नो? नजिकै हुन्छ या टाढा?"]
कविता रङ्गमञ्च हरेक श्वासले उमेर फाल्दैछ। कति श्वासले सपना फालिसके। खै कति फोक्सो श्वास चाहिने र'छ, काँध थिचेका जिम्मेवारी फाल्नलाई। "जिम्मेवारी" अर्को बडेमानको अनुभूति। अनुभूति या अरू केही? खोइ! रङ्गमञ्चले जे माग्दछ - "कहिले हँसिलो मुहार। कहिले बादलिएको अनुहार। कहिले आँखाबाट निस्केका राप। कहिले जुनसँगको सन्ताप।" मनको किन माग्दो हो र! बुझेको छ रङ्गमञ्चले मन कहाँ मनकारी छ र। बरु फोक्सो माग्दछ। फोक्सोले अन्तिम अन्तिममा - बल्लतल्ल भरेको घडा माग्दछ। अनि शून्य! नदी मिसिन्छ समुन्द्रमा। समुन्द्रले निलिदिन्छ - नदीको सुस्सकेरा। पर्दा लाग्दछ रङ्गमञ्चको!! रङ्गमञ्चले के माग्दछ? अर्को थान फोक्सो। अर्को घडा श्वास। अर्को थान नदी। बस् - रङ्गमञ्च चलिरहोस्। रङ्गमञ्च चलिरहोस्।
Comments
Post a Comment